झापा, फागुन १९ । उपचार अभावमा करीब दुई बर्षदेखि आफ्नै घरमा साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका–५ का ९ वर्षीय बालक आकाश चौधरीको आज मेची अभियानले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ । अभियानले बालकको उद्धार गरी उपचारका लागि धरानस्थीत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको हो ।
अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोली बिहिबार बिहान बालकको घरमा नै पुगेर आकाशको उद्दार गरेको युवा सामाजिक अभियन्ता कौशल भण्डारीले बताउनु भयो । बिपन्न समुदायका सेवुलाल चौधरीका छोरा आकाश साङ्लोमा बाँधिएको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माल जानकारी पाए लगत्तै तत्काल बालकको उद्धार र उपचारको ब्यवस्था मिलाउन अभियानका संयोजक डालमियालाई आग्रह गर्नु भएको थियो ।
अभियानका परिकल्पनाकार तथा संरक्षक समेत रहनु भएका शर्माले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सञ्जीव शर्मा र वहाँको टिमलाई फोन गरेर उपचारमा सहयोग गर्न आग्रह गर्नु भएको थियो । चिकित्सक शर्माले बालकको उपचार गर्न आफ्नो टिम तयार रहेको महामन्त्री शर्मालाई जानकारी गराउनु भए पछि बिहिबार बिहानै अभियानका संयोजक डालमियाको पहलमा बालक आकाशलाई उपचारका लागि धरान पठाइएको थियो ।
बालकको सम्पूर्ण उपचार निशुल्क गर्ने गरी व्यवस्था मिलाइएको अभियानका संयोजक डालमियाले बताउनु भयो । ‘प्रतिष्ठानमा हुने सबै उपचार निशुल्क हुने ब्यवस्था मिलाएका छौं,’ डालमियाले भन्नुभयो, ‘बालकलाई सहि उपचार गराएर स्वस्थ्य बनाएर घर फर्काउने काममा गभ्भिर भएर लागेका छौं ।’ बालकलाई प्रतिष्ठानसम्म पु¥याउन नेपाल रेडक्रस सोसाइटी झापा शाखाले एम्बुलेन्स उपलब्ध गराएको सभापति लोकराज ढकालले बताउनु भयो ।
आर्थिक अवस्था कमजोर हुँदा उपचार पाउनु पर्ने आकाशलाई केही महिना अघिदेखि साङ्लो बाँधेर राखिएको थियोे । उनमा अस्वाभाविक परिवर्तन आएपछि फलामे साङ्लोले बाँधेर राखिएको हो । घर छाडेर जतासुकै जाने, जे पायो त्यही खाने, अस्वाभाविक व्यवहार देखाउन थालेपछि आकाशलाई साङ्लोले बाँधेर राखेको बुबा सेवुलालले बताउनु भयो । ‘आफु काम गर्न जानु पर्छ अनि साङ्लोले बाँधेर हिड्ने गरेको छु,’ सेबुलालले भन्नुभयो, ‘पैसा नभएर अहिलेसम्म अस्पताल लान सकेको छैन ।’