बिर्तामोड, माघ २१ । नेपाल पत्रकार महासंघ झापा शाखाले बिएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईलाई सचेत गराएको छ । बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले समाचारको खण्डन गर्ने क्रममा पत्रकारहरुलाई सार्वजनिक रुपमा धम्की दिएको भन्दै महासंघ झापा शाखाले आज प्रेस विज्ञप्ती जारी गरी प्रसाईलाई सचेत गराएको हो ।
महासंघ झापाका सचिव डिकेश लामाले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘बिर्तामोडस्थित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पतालबारे एक सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्न पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बद्नामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
महासंघले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रकाशित÷प्रशारित समाचारप्रति चित्त नबुझे त्यस विषयमा सम्बन्धित सञ्चार माध्यममा खण्डन प्रकाशन÷प्रशारण गर्ने, सम्बन्धित सञ्चार माध्यमबाट उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल र अदालत जान पाउने कानुनी हक हुँदा–हुँदै समग्र पत्रकारिता क्षेत्रको बद्नाम हुने गरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति र पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्क्याएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषिउपर कारवाहीका लागि महासंघ झापा शाखा जोडदार माग गर्दछ । साथै प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत नदोहो¥याउन सम्बन्धित पक्षलाई महासंघ झापा शाखा सचेत गराउँदछ ।’
महासंघले पत्रकारहरुलाई समेत आचार संहिता पालना गर्न आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि सञ्चार माध्यममा आएको समाचारको विषयलाई लिएर अर्को सञ्चार माध्यमले खण्डन गर्नु पत्रकार आचारसंहिता विपरीत रहेको महासंघको ठहर छ । तसथर्, पत्रकार आचारसंहिताको पालना गर्न÷गराउन महासंघ झापा शाखा सबै सञ्चार माध्यम र पत्रकारहरूलाई आग्रह गर्दछ ।’
बिएण्डसी अस्पतालका बारेमा एउटा अनलाईन सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसंग भिड्दै अगाडी बढ्ने बताउनु भएको थियो भने पत्रकारहरु भित्र अपराधिक झुण्ड रहेको समेत बताउनु भएको थियो ।
