बिर्तामोड, पुष २८ । नागरिक समाजका अगुवा प्रतिनिधिहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले उपभोक्ता जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ । उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले गठन भएको समितिको अध्यक्षमा मेचीनगरका मोहन काजी न्यौपाने सर्वसम्मत चयन हुनु भएको छ ।
भेलाले समितिको उपाध्यक्षमा मेचीनगरका निलकण्ठ तिवारी, सचिवमा बिर्तामोडका विशाल थापा, सहसचिवमा बिर्तामोडकी अनिता दाहाल र कोषाध्यक्षमा अर्जुनधाराका शेखरनाथ अधिकारीलाई चयन गरेको छ ।
विधान बमोजिम एघार सदस्यीय जिल्ला कार्य समितिको सदस्यमा हल्दिबारीकी कमला शिवाकोटी, मेचीनगरका ज्ञानेन्द्र निरौला, अर्जुनधाराका सन्तबहादुर तामाङ, मेचीनगरका अर्जुन कार्की, भद्रपुरका राजेन पौडेल र अर्जुनधाराका धर्मेन्द्र गुप्ता चयन भएका छन् ।
समितिको सल्लाहकारमा बिर्तामोडका कुलप्रसाद ओडारी, मेचीनगरका छविलाल भण्डारी र भद्रपुरकी मञ्जु पोखरेललाई भेलाले चयन गरेको छ ।
समितिका पदाधिकारी तथा सदस्यहरु सञ्चार, वाणिज्य, जेसिज, शिक्षण, यातायात लगायतको क्षेत्रका अनुभवी अगुवाहरु मध्येबाट छानिएका छन् ।
उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली प्रमुख अतिथि रहेको सो भेलाको अध्यक्षता अभियानका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का अध्यक्ष राजेन्द्र घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मार्सेलीले नेपालमा उपभोक्ताको अधिकार र विद्यमान अवस्थाको चर्चा गर्दै अभियानले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा धारणा राख्नु भएको थियो ।
अभियानका प्रदेश नं १ का अध्यक्ष घिमिरेले नेपालमा नागरिक सचेतनाको अभावमा उपभोक्ताहरुको अधिकार कुण्ठित हुने गरेको हुँदा सशक्त नागरिक आन्दोलनको खाँचो रहेको बताउनु भयो । नवनियुक्त जिल्ला अध्यक्ष काजीले लोकतन्त्रमा नागरिक सर्वोच्चता सर्वोपरि रहेको हुँदा उनीहरुको हित र संविधानप्रदत्त उपभोक्ता अधिकारको कार्यान्वयनका लागि समितिले इमानका साथ नागरिक सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । वहाँले समितिका सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक हुने समेत बताउनु भयो ।