कनकाई, पुष २० । नेपाली काँग्रेसका केन्द्रिय महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसका कार्यकर्ताहरु छिमेकीलाई सारो गारो अप्ठ्यारो पर्दा काम लाग्नु पर्ने बताउनु भयो । वहाँले भन्नुभयो, ‘काँग्रेस हुँ भन्दै हिड्ने तर आफ्नै छिमेकीलाई केही परेको बेला काम नलाग्ने कार्यकर्ताले पार्टी बन्दैन ।’
प्रजातान्त्रीका आन्दोलनका योद्धा तुर्सा हेमरमको स्मृति दिवसका अवसरमा झापाको कनकाई नगरपालिकास्थीत दुर्गापुरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भन्नुभयो, ‘आम नागरिकलाई परेको बेला काँग्रेस काम लाग्नु पर्छ अनि मात्रै काँग्रेसमा रुपान्तरण हुन्छ ।’
काँग्रेस बदलिएको अब समाजले स्पष्ट रुपमा थाहा पाउनु पर्ने महामन्त्री शर्माको भनाई थियो । वहाँले भन्नुभयो, ‘काँग्रेस बदलिएकोले समाजलाई फरक पर्नु पर्छ ।’
प्रजातान्त्रीक योद्धा तुर्सा हेमरमले आफ्नो सम्पूर्ण जीवन काँग्रेस बनाउन र राम्रो ब्यवस्थाका लागि सर्मपण गर्नु भएको शर्माले बताउनु भयो । ब्यवस्थाको परिवर्तन मात्रै होईन अवस्था राम्रो बनाउन पनि तुर्सा हेमरमले संघर्ष गर्नु भएको शर्माले बताउनु भयो ।
तुर्सा हेमरम प्रतिष्ठानको आयोजनामा भएको स्मृति दिवस कार्यक्रममा काँग्रेसका अगुवा नेताहरु डिल्ली सिटौला, पुर्णानन्द शर्मा, पुर्व सांसद मोहन टुडु, काँग्रेस केन्द्रिय सदस्य शुशिला ढकाल, काँग्रेस झापाका उपसभापति केशबराज पाण्डे, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल लगायतले हेमरमको जीवनीका बारेमा चर्चा गर्नु भएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्का उपाध्यक्ष टिका मैनालीले स्वागत मन्तब्य राख्नु भएको थियो भने सचिव कुमारमणी पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त अवसरमा विभिन्न विधामा खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई प्रमुख अतिथि काँग्रेस महामन्त्री शर्मा सहितका अतिथिहरुले पुरस्कार प्रदान गर्नु भएको प्रतिष्ठानका सदस्य शिव कँडेलले जानकारी दिनु भयो । कार्यक्रममा सन्थाल नृत्यसंगै अन्य गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।