अर्जुनधारा, पुष ६ । झापाको एउटा बाख्रा फार्मबाट बार्षीक ५० वटा बोयर जातको बाख्रा उत्पादन हुने गरेको छ । झापा अर्जुनधारा ९ प्रणामी टोलका युवा कमल कडरियाले सञ्चालन गरेको आर के एग्रीकल्चरबाट अहिले बार्षीक रुपमा कम्तिमा ५० वटा बोयर जातको बाख्रा उत्पादन भइरहेको छ ।
२०७२ सालमा सञ्चालन गरेको उक्त बाख्रा फार्म १० वटा लोकल बाख्राबाट सूरु गरिएको सञ्चालक कमल बताउनु हुन्छ । केही समय पछि बोयर जातको बाख्राको बजार राम्रो भएको र झापामा उत्पादन पनि नभएको भन्ने सुने पछि चितवनबाट बोयर जातको बाख्रा ल्याएर पालन गरिएको थियो ।
‘सूरुमा बाख्रा पाल्ने भनेर थालियो तर कुन जातको पाल्ने भन्ने थाहा थिएन,’ कमलले सेतोपत्रसंग भन्नुभयो, ‘विभिन्न सम्पर्कबाट बोयर जातको बाख्रा पालन गर्नु ठिक हुन्छ भन्ने लागेर त्यही जातको बाख्रा चितवनबाट ल्याएर पाल्न सूरु गरेका हौं ।’
![](https://www.setopatra.com/uploads/editor/RK%20Agriculture%202.jpg)
करीब ४ लाख लगानीबाट सूरु भएको बाख्रा फार्ममा अहिले एक करोड ५० लाख भन्दा बढी लगानी भइसकेको कमल बताउनु हुन्छ । सञ्चालक कमलका अनुसार अहिले आर के एग्रीकल्चरमा माउ ४० वटा, बीउ बोका ४ वटा, पाठा पाठी ३५ वटा र बोका लाग्ने बेला भएका पाठीहरु १४ वटा छन ।
तीन महिनादेखि माथिका पाठा पाठीहरु बिक्रि गर्ने गरेको कमल बताउनु हुन्छ । एउटा पाठा वा पाठी करीब ५० हजारमा बिक्रि हुने र उत्पादन भएका पाठा पाठीहरु बिक्रि गर्न कुनै समस्या नभएको वहाँको भनाइ छ । बोयर जातका पाठीहरु बढी बिक्रि हुने र बोकाहरु कम बिक्रि हुने कमल बताउनु हुन्छ ।
बिषेश गरेर घाँस र साइलेज खुवाउने बाख्राका लागि दाना फार्ममा नै उत्पादन गर्ने गरेको र मासिक खर्च करीब एक लाख हुने गरेको छ भने अहिलेसम्म सरकारीस्तरबाट कुनै सहयोग नरहेको समेत कमलले बताउनु भयो । ‘सरकारी मान्छे आउँछन, हेर्छन र जान्छन तर कुनै सहयोग भने अहिलेसम्म गरेका छैनन,’ कमलले भन्नुभयो ।
![](https://www.setopatra.com/uploads/editor/RK%20Agriculture%201.jpg)
बाख्रा पालनका लागि दक्ष प्राविधिक नभएकाले समस्या हुने गरेको कमल बताउनु हुन्छ । ‘बाख्रामा कुनै रोग लाग्यो भने पत्ता लगाउनै गाह्रो हुन्छ,’ कमलले भन्नुभयो, ‘उपचार गर्न जान्ने प्राविधिक छैनन, त्यसैले कहिले काही समस्या हुन्छ ।’
बैंकबाट २० लाख ऋण लिएर सूरु गरेको बोयर बाख्रा पालनबाट अहिले बार्षीक करीब २५ लाख आम्दानी गरिरहनु भएका कमल बाख्रा पालनबाट आफु सन्तुष्ट रहेको बताउनु हुन्छ ।