झापा, मंसिर २० । नेपाली काँग्रेसको प्रदेश १ सभापतिमा झापाका उद्धब थापा बिजयी हुनु भएको छ । कांग्रेस को १४ औ महाधिवेशन अन्तर्गत प्रदेश १ कार्यसमिति सभापतिमा थापा सहित पदाधिकारीमा संस्थापन समूह वर्चश्वसहित विजयी भएको हो । संस्थापन पक्ष (देउवा–सिटौला गठबन्धन) का उद्धव थापाले पौडेल–कोइराला समूहका गुरुराज घिमिरेलाई दुई मतले पछि पार्नु भएको हो ।
नेपाली काँग्रेस मोरङ पार्टी कार्यालयमा भएको मतगणना सकिएपछि आज बिहान ३ः३० बजे निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनुसार थापाले ८४४ र घिमिरेले ८४२ मत प्राप्त गरेका छ्न । मत गणनाको शुरुवात देखि नै झिनो मतान्तरले घिमिरेले अग्रता लिइरहे पनि अन्तिम समयमा थापाले दुई मत बढी ल्याए पछि मत गणनामा त्रुटी भएको भन्दै केही बेर बिवाद समेत भएको थियो ।
उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन । रायमाझीले ८९० तथा राईले ८४७ मत प्राप्त गर्नु भयो । पराजित भएका गोविन्दप्रसाद ढुङ्गानाले ७६५ तथा विश्वनाथ रिजालले ६६९ मत पाउनु भएको छ ।
महामन्त्रीमा भुपेन्द्र राई र पदमसुन्दर पालुङ्गवा विजयी भएका छन । उमेश थापा र दिपनकुमार श्रेष्ठ पराजित भएका छन । राईले ८२४ र पालुङ्गवाले ८०७ मत प्राप्त गरी बिजयी हुनु भएको हो भने थापाले ८०३ तथा श्रेष्ठले ७६४ मत मात्र प्राप्त गर्नु भएको थियो ।
यस्तै सहमहामन्त्री महिलातर्फ संस्थापन पक्षकी प्रमिला गच्छदार ८३७ मत पाउँदै विजयी हुनु भएको छ । वहाँकी प्रतिस्पर्धी संस्थापन इतर समुहकी सीता कार्कीले ७९३ मत प्राप्त गर्नु भयो ।
सहमहामन्त्री खुल्ला तर्फ खड्ग फागोले सर्वाधिक मत ल्याएर बिजयी हुनु भयो । वहाँले १०२६ मत प्राप्त गरी बिजयी हुनु भएको हो । अर्का सहमहामन्त्रीमा विनोदकुमार बस्नेतले ७४७ मत प्राप्त गरि विजयी हुनु भयो । पराजित भएका रोहितकुमार शाहले ६६५, वीरकाजी राईले ६४७ तथा शुभचन्द्र राईले ८४ मत प्राप्त गर्नु भयो ।
प्रदेश कार्यसमितिको चयनका लागि शनिबार भएको मतदानमा १७५३ जनाले मतदान गरेका थिए ।