मेचीनगर, असोज २५ । झापा मेचीनगर १५ ज्यामिरगढी कि एक युवती हराए पछि परिवारका सदस्यले छोरीको खोजी गरिदिन सबैलाई आग्रह गर्नु भएको छ । ज्यामिरगढीकी २२ बर्षीया कल्पना हाँडी असोज ५ गतेदेखि आफ्नै घरबाट हराइरहेकी हुनाले उनको खोजी गरिदिन कल्पनाका बुवा सुरेन हाँडीले सबैसंग आग्रह गर्नु भएको छ ।
छोरी हराएको २० दिन सम्म परिवार र प्रहरीले खोजी गर्दा समेत सम्पर्क नभए पछि आइतबार बिहान सेतोपत्रको कार्यालयमा नै आउनु भएका सुरेनले भन्नुभयो, ‘छोरीलाई कसैले ललाई फकाइ गरेर लगे जस्तो लाग्छ, त्यसैले डर लागिरहेको छ ।’
राजबंशी भाषाको टेलिफिल्म बनाउने समुहका एक जना युवासंग नजिकिएकोले उसैले छोरीलाई फकाएर लगेको हुनसक्ने सुरेनले आशंका ब्यक्त गर्नु भयो । ‘छोरीलाई पनि टेलिफिल्ममा सुटिङ गराएको थियोे’ सुरेनले भन्नुभयो, ‘त्यही फिल्म खेल्ने भद्रपुरको सर्बन राजबंशीले मेरो छोरीलाई फकाएर लगेको छ ।’
बिवाहित रहेका भद्रपुर ४ भातियाबारी निवासी २८ बर्षीय सर्बनले बिहे गर्न नभएर गलत नियतले आफ्नो छोरीलाई बेपत्ता बनाएको सुरेनले आरोप लगाउनु भयो । सर्बनका बिरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारी र जिल्ला प्रहरी कार्यालय झपामा जायरी दिइसकेको भए पनि प्रहरीले अहिलेसम्म सर्बन र आफ्नी छोरीको खोजी गर्न नसकेको सुरेनले गुनासो गर्नृु भयो । छोरीको खोजीमा सर्बनको घरमा समेत पुगेको भए पनि त्यही दिनदेखि सर्बन समेत परिवारको सम्पर्कमा नभएको सुरेनले बताउनु भयो ।
‘हराएको धेरै दिन भयो’ कल्पनाका बुवा सुरेनले भन्नुभयो, ‘बिहे नै गरेको भए पनि अहिलेसम्म त सम्पर्कमा आउथ्यो नि त्यसैले उसले कतै लगेर बेच्यो कि, मार्यो कि भन्ने कुराले हामीलाई धेरै डर लागेको छ ।’
‘प्रेम बिवाह गरेकै भए पनि परिवारको सम्पर्कमा आउनु पर्ने हो तर केही खबर नभए पछि चिन्ता गर्नु पर्ने अवस्था आएर खोजीका लागि सबैलाई आग्रह गरेका छौं ।’ कल्पनाको खोजी अभियानमा लाग्नु भएका मेचीनगर १५ का वडा अध्यक्ष गुणराज भट्टराईले भन्नुभयो ।