झापा, ३२ साउन । अनलाइन टीभी पत्रकार संघको शाखा झापामा पनि गठन भएको छ । जिल्लामा क्रियाशिल अनलाइन टीभी पत्रकारहरुको प्रथम भेलाले खगेन्द्र घिमिरेको नेतृत्वमा १३ सदस्यीय प्रथम जिल्ला कार्यसमिति गठन गरेको हो ।
संघको जिल्ला उपाध्यक्षमा समीर सुवेदी, सचिवमा खगेन्द्र राउत, सहसचिवमा आईन्द्र लिम्बू, कोषाध्यक्षमा राजकुमार लिम्बूलाई चयन गरिएको छ । साथै कार्यसमितिमा अन्य ८ जना सदस्य रहेका छन ।
भेलामा संघ केन्द्रीय उपाध्यक्ष कुशलभ केसी, महासचिव पवन फुयाल, कोषाध्यक्ष शोभराज बराल लगायतले संघको बारेमा जानकारी गराउनु भएको थियो ।
केन्द्रीय उपाध्यक्ष केसीले अनलाइन टीभीलाई थप व्यवस्थित र स्वनियमन गर्नुपर्नेमा जोड दिदै पत्रकार आचार संहिता भित्र रहेर काम गर्न अनलाइन टीभी पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो ।
त्यस्तै महासचिव फुयालले अनलाइन टीभी पत्रकारिताको क्षेत्रमा देखिएका विक्रिती न्युनिकरणका लागि देशभरी संघको शाखा विस्तार गर्दै साथीहरुलाई जिम्मेबार र गुणस्तरीय काम गर्न प्रेरित गर्ने योजना रहेको जानकारी दिनुभयो ।
अनलाइन टीभी पत्रकारिता दिन प्रतिदिन लोकप्रिय र प्रभावकारी हुदै गएकाले यसमा काम गर्ने पत्रकारहरु थप जिम्मेबार र परिपक्व हुन आवश्यक रहेकोमा कोषाध्यक्ष बरालले जोड दिनुभयो । भेलामा सहभागी सवैले संघलाई पत्रकारिता क्षेत्रको दरिलो र विश्वासीलो छाता संगठनको रुपमा विकास गर्ने अठोट व्यक्त गरेका थिए ।
अनलाइन टीभी पत्रकारितालाई शुद्धिकरण गर्ने र सुदृढीकरण गर्ने उद्धेश्यका साथ झण्डै २० बर्षदेखि पत्रकारितामा सक्रिय पत्रकार तथा पत्रकारिताका अध्यापक जीवन भण्डारीको नेतृत्वमा संघको स्थापना भएको हो । संघले अरु आधा दर्जनभन्दा बढी जिल्लामा शाखा गठन गरिसकेको छ भने अन्य जिल्लाहरुमा पनि गठन गर्ने तयारी भइरहेको जनाएको छ ।