झापा, साउन १६ । झापामा साउन १२ गतेदेखि १५ गतेसम्म कोरोना भाइरस बिरुद्धको भेरोसेल खोप अभियान सञ्चालन भयो । झापाका सबै १५ वटै पालिकालाई स्वास्थ्य कार्यालय मार्फत भेरोसेल खोप उपलब्ध गराइएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
सरकारबाट उपलब्ध भएको खोपलाई झापाका सबै पालिकाहरुको जनसंख्याको आधारमा बितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सेतोपत्रलाई जानकारी दिनु भयो । भेरोसेल खोपको पहिलो मात्रा लगाउने अभियान अन्तर्गत झापामा जम्मा ६२५६३ मात्रा खोप उपलब्ध भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख घिमिरेले बताउनु भयो ।
सबैभन्दा धेरै खोप मेचीनगर नगरपालिकाले पाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मेचीनगरले ८७१६ मात्रा भेरोसेल खोप पाएको थियो । त्यस्तै बिर्तामोडले ७६७९ मात्रा खोप पाएको थियो । दमकले ६३९७, भद्रपुरले ६१४३, शिवसताक्षीले ४९६६, गौरादहले ४०७१, अर्जुनधाराले ४००० खोप पाएका थिए ।
त्यस्तै कमल गाउँपालिकाले ३४४४, बुद्धशान्ति गाउँपालिकाले ३१९९, कमल गाउँपालिकाले ३०९६, बाह्रदशी गाउँपालिकाले २५७९, हल्दिबारी गाउँपालिकाले २२३०, कचनकवल गाउँपालिकाले २०४२, गौरीगञ्ज गाउँपालिकाले २००० र झापा गाउँपालिकाले २००० मात्रा भेरोसेल खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।