धुलाबारी, जेठ १० । झापा मेचीनगरका दुई वटा रोटरी क्लबको प्रस्तावमा मेचीनगर १० धुलाबारीस्थीत आम्दा मेची अस्पतालमा अक्जिन प्लान्ट निर्माणका लागि पहल शुरु भएको छ ।
रोटरी क्लब अफ काकरभिट्टा र रोटरी क्लब अफ मेचीनगरको अगुवाइमा झापाका ८ वटा रोटरी क्लबका तर्फबाट भद्रपुरस्थीत मेची अस्पतालमा अक्सिजन प्लान्ट निमार्ण गर्ने तयारी भएता पनि अस्पतालका तर्फबाट उक्त प्रस्ताव स्वीकार नभए पछि उक्त प्लान्टलाई धुलाबारीको आम्दा मेची अस्पतालमा राख्ने पहल शुरु गरिएको रोटरी क्लब अफ काकरभिट्टाका एक पदाधिकारीले सेतोपत्रलाई बताउनु भयो । वहाँले भन्नुभयो, ‘मेची अस्पतालका लागि रोटरीको ग्लोबल ग्राण्डबाट सहयोग हुने निर्णय भएको थियो तर आम्दामा भने पहिला आवश्यकता के हो भन्ने पहिचान गर्न बाँकी रहेको छ ।’
परियोजनाको स्थान परिवर्तन गर्न लागिएकाले आम्दा मेची अस्पतालमा के आवश्यकता हो यदि अक्सिजन प्लान्ट नै आवश्यक हो भने कत्रो क्षमताको आवश्यकता हो भन्ने कुरा बिस्तृत अध्ययन प्रतिवेदन रोटरी इन्टरनेशनललाई पठाए पछि मात्रै ग्लोबल ग्राण्ड दिने कि नदिने भन्ने टुङ्गो लाग्ने रोटरी क्लब अफ काकरभिट्टाका ति पदाधिकारीले बताउनु भयो ।
कोरोनाको महामारीका कारण देशब्यापी रुपमा अक्सिजनको अभाव भएकाले मेचीनगरमा अहिलेसम्म सुविधा सम्पन्न अस्पताल पनि नभएको र अक्सिजन प्लान्ट पनि नभएकाले आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट नै राख्नु पर्छ भनेर पहल शुरु गरेको रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्रीले बताउनु भयो । ‘भद्रपुरका लागि रोटरीको ग्लोबल ग्राण्डले ३५ लाख दिने निर्णय भएको थियो त्यहाँ नहुने भए पछि त्यही ग्राण्ड हामी आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट राख्न प्रयोग गर्नु पर्छ भन्ने छलफलमा जुटेका छौं ।’ अध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘अब आम्दा मेची अस्पतालको आवश्यकता र अक्सिजन प्लान्टको क्षमताका बारेमा प्राविधिक अध्ययन गरेर रोटरी इन्टरनेशनललाई पठाउँछौं ।’
प्रारभ्भिक अध्ययनमा ७० देखि ८० लाखको लागतमा दैनिक ४० वटा सिलिण्डरमा अक्सिजन भर्न मिल्ने क्षमताको प्लान्ट राख्न सकिने भएको क्षेत्रीले बताउनु भयो । धुलाबारीमा अक्सिजन प्लान्ट राख्न मेचीनगर नगरपालिकाले समेत २० लाख सहयोग गर्ने बचन दिएको र मेची उद्योग वाणीज्य संघ मेचीनगरको पहलमा १५ लाख रकम ब्यवस्थापन गर्ने गरि पहल शुरु भएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनु भयो ।
झापाका ८ वटै रोटरी क्लबहरुको सहभागिता हुने आम्दा मेचीमा अक्सिजन प्लान्ट बनाउने प्रस्ताव रोटरी इन्टरनेशनलले स्वीकृत गरे एक देखि डेढ महिना भित्रमा प्लान्ट तयार गर्न सकिने रोटरी क्लबका पदाधिकारीहरुले बताएका छन ।