झापा, जेठ ३ ।
झापाको बिर्तामोडस्थीत बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडी बढेको छ । काठमाडौं विश्वविद्यालयले बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेसंगै प्रक्रिया अगाडी बढेको हो । विश्वविद्यालयले सिट संख्यासहित सम्बन्धनको निर्णय गरिएको र सो अनुसार सिफारिसका लागि चिकित्सा शिक्षा आयोगलाई पत्राचार समेत गरिसकेको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्को वैशाख ३१ गतेको बैठकले बीएण्डसीलाई सम्बन्धनको निर्णयका लागि सिफारिस गर्ने निर्णय गरी सोमबार आयोगलाई पत्राचार गरिएको हो ।
विश्वविद्यालयको ८९ औं बैठकले नै बीएण्डसीको सम्बन्ध प्रक्रिया अगाडी बढाउने निर्णय गरेको र विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण समेत गरेको जनाएको छ ।
विश्वविद्यालयको विज्ञ टोलीले निरीक्षण गरि प्रतिवेदन तयार पारी बीएण्डसीलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ को ६ अनुसार विश्वविद्यालयले सम्बन्धनको लागि सहमति दिने र सिट संख्या सहित स्वीकृतिका लागि आयोगबाट निर्णय गर्न पत्राचार गरिएको छ ।
चिकित्सा शिक्षा ऐनको दफा ६ मा भनिएको छ ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिई सकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागु हुने छैन । काठमाडौं उपत्यका बाहिरका अन्य शिक्षा संस्थाका हकमा आयोगले निर्णय गरे वमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनैपनि कुराले वाधा पुग्ने छैन ।’
ऐनमा व्यवस्था भएअनुसार अब चिकित्सा शिक्षा आयोगले विश्विवद्यालयबाट भएका निर्णय, प्रतिवेदन र बीएन्डसीले बुझाएका कागजपत्रका आधारमा प्रक्रिया अगाडि बढाउने छ । आयोगले ऐन अनुसार विश्वविद्यालयलाई सम्बन्धन र सिट संख्या दिन मिल्ने वा नमिल्ने निर्णय गर्नेछ ।
आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले विश्वविद्यालयले निर्णय गरेको पत्र आयोगमा प्राप्त भएको जानकारी दिनु भयो । तर उक्त पत्रको विषयमा आयोगले कुनै निर्णय भने नगरेको वहाँले बताउनु भयो ।