सुरुङ्गा, वैशाख २९ । कोरोना भाइरसका कारण दैनिक संक्रमितहरु तिब्र रुपमा बढीरहेको झापाका एउटा स्थानीय तहका प्रमुख भने यतिबेला आफ्ना पालिकाका संक्रमितको घरमा अक्सिजन र स्वास्थ्यकर्मी लिएर पुगिरहनु भएको छ । झापा कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल नगरभित्रका संक्रमितहरुका घर घरमै अक्सिजन सिलिण्डर र चिकित्सक सहितको टोली लिएर जाने गर्नु भएको छ ।
‘विरामीहरुको घरमा जनप्रतिनिधी, चिकित्सक, स्वास्थ्यकर्मी औषधि र आवश्यक सामाग्रीहरु लिएर आउने गरेको’ कनकाई १ का एक कोरोना संक्रमितले बताउनु भयो । नगरप्रमुख आफै अक्सिजन र चिकित्कसहरुको टोली लिएर कोभिड विरामीहरुको घरमा पुग्ने गर्नु भएको छ । कनकाई नगरमा अक्सिजन लिनुपर्ने अवस्थामा रहेका तिनजना कोभिड विरामीहरुलाई नगरपालिकाले अक्सिजन घरमै पुर्याई सकेको छ ।
कनकाई नगरपालिकाले कोभिडका विरामीहरुलाई लक्षित गरेर डाक्टर अभिषेक नायकको नेतृत्वमा संक्रमितको अवस्था बुझेर आवश्यक उपचार र परामर्शका लागि स्वास्थ्यकर्मीको समुहलाइ संक्रमितको घरघरमा लिएर नगरप्रमुख पोखरेल आफैं जाने गर्नु भएको छ ।
‘नगरका संक्रमितलाई जस्तो सुकै सहयोग गर्न पनि नगरपालिका पछि पर्दैन’ नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘घरमै बसेर उपचार सभ्भव हुने संक्रमितका लागि अक्सिजन र चिकित्सकीय सेवा घरमै पुर्याई रहेका छौं ।’
उपचारका लागि अस्पतालनै जानु पर्ने भए प्रदेश १ भरिका जुनसुकै अस्पताल पुर्याउन नगरपालिकाले २४ घण्टा सेवा दिने नगरप्रमुख पोखरेलले बताउनु भयो । वहाँका अनुसार नगरको एम्बुलेन्सले संक्रमितलाई उपचारका लागि अस्पताल लैजान २४ घण्टै काम गरिरहेको छ ।
नगरपालिकाले ५० बेडको आइसोलेशन केन्द्र समेत निर्माण गरिसकेको छ । अहिले १६० जना संक्रमित रहेको कनकाइ नगरपालिकामा अधिकाशं संक्रमित सामान्य अवस्थामा होम आइसोलेशनमा रहेको नगरपालिकाले जनाएको छ ।