इटाभट्टा, वैशाख २४ । झापाको मेचीनगर नगरपालिका कोरोना नियन्त्रणको अभियानमा आक्रामक रुपमा उत्रिएको छ । कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्न थाले पछि त्यसको नियन्त्रणमा मेचीनगर योजनाबद्ध रुपमा अगाडी बढेको हो ।
कोरोना नियन्त्रणका लागि नगरपालिकाले वडा स्तरिय आपतकालिन उद्धार समिति देखि स्वास्थ्य सामग्री खरिदसम्मका कामलाई तिब्रता दिएको छ । ३० बेडको आइसोलेशन केन्द्र समेत सञ्चालन ल्याएको मेचीनगरले अक्सिजन सिलिण्डर थप गरेको छ । १५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको नगरले आज थप १५ वटा सिलिण्डर खरिद गरी आइसोलेशन केन्द्रमा पुर्याएको मेचीनगरका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले बताउनु भयो ।
कोरोना नियन्त्रणका लागि गरेको तयारीका बारेमा पत्रकारसंग कुरा गर्दै मेचीनगरका प्रमुख प्रशासकिय अधिकृत ओझाले भन्नुभयो, ‘हामीसंग १५ वटा अक्सिजन सिलिण्डर पहिलै थिए आजदेखि १५ वटा थपिएको छ ।’ ‘अब आइसोलेशन केन्द्रमा बस्ने सबै संक्रमितले अक्सिजन पाउने ब्यवस्था भएको छ, ओझाले भन्नुभयो ।
नगरपालिकाले आफ्ना सबै १५ वटै वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरिय कोभिड नियन्त्रण समिति समेत गठन गरेको छ । ‘वडामा नै कोभिड समिति छ त्यसले हरेक टोलबिकास संस्थासंग समन्वय गरेर आवश्यक सहयोग गर्छ ।’ नगरस्तरिय कोभिड संक्रमण नियन्त्रण सचिवालयका संयोजक नविन बरालले भन्नुभयो, ‘होम आइसोलेशनमा बसेका संक्रमितलाई पनि घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छौं ।’
नगरपालिकाले आफ्ना नागरिकका लागि घरमै बसेरै अक्सिजन लगाउन मिल्ने हाते अक्सिजन समेतको ब्यवस्था गरेको सचिवालय संयोजक बरालले बताउनु भयो । ‘अहिले हामीसंग १०० थान हाते अक्सिजन र औषधीहरु छन’ बरालले भन्नुभयो, ‘आवश्यक परे थप स्वास्थ्य सामग्री तत्काल ब्यवस्थापन गर्छौ ।’
संक्रमित भएर होम आइसोलेशनमा बसेकाहरुलाई घर घरमै पुगेर स्वास्थ्य सामग्री पुर्याउने र स्वास्थ्यकर्मीले आवश्यक परिक्षण पनि गर्ने ब्यवस्था गरेको प्रमुख प्रशासकिय अधिकृत ओझाले बताउनु भयो ।
नगरपालिका भित्र सञ्चालनमा रहेको सबै एम्बुलेन्सका चालकलाई समेत स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको र नगरका जुनसुकै नागरिकलाई जतिबेलामा पनि एम्बुलेन्स सेवा आवश्यक भए तत्काल उपलब्ध हुने ब्यवस्था मिलाइएको सचिवालय संयोजक बरालले बताउनु भयो ।
कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका नगरका स्वास्थ्यकर्मीहरुलाई मासिक तलबको ५० प्रतिशत थप सुविधा उपलब्ध गराउने र अन्य स्वास्थ्यकर्मीहरुलाई समेत केही सुबिधा थप गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत ओझाले जानकारी दिनु भयो ।
मेचीनगरका सबै वडा स्तरिय स्वास्थ्य चौकी प्रमुखलाई वडागत कोभिड फोकल पर्सन समेत तोकेको मेचीनगर स्वास्थ्य शाखा प्रमुख रामनारायण यादबले जानकारी दिनु भयो ।