इटाभट्टा, बैशाख २० ।
नेपाल बहुउद्देशीय सहकारी संस्था (एनएमसी) का एक जना बजार प्रतिनिधिले सदस्यबाट संकलन गरेको १२ लाख ५० हजार रुपैया खातामा जम्मा नगरी आफैंले चलाएको खुलासा भएको छ । एनएमसीको इटाभट्टा कार्यालयका बजार प्रतिनिधि गणेश अधिकारीले स्थानीय ब्यवशायी उमाकान्त बाँस्तोलाबाट संकलन गरेको १२ लाख ५० हजार भन्दा बढी रकम बाँस्तोलाको खातामा जम्मा नगरी बजार प्रतिनिधि अधिकारी आफैंले चलाएको एनएमसी इटाभट्टा कार्यालयका प्रमुख हरिमाया ओझाले सेतोपत्रलाई जानकारी दिनु भयो ।
२०७६ चैतदेखि २०७७ असोजसम्मको लकडाउनको समयमा बाँस्तोलाबाट संकलन गरेको रकम बजार प्रतिनिधि अधिकारीले कार्यालयमा ल्याएर जम्मा नगरेको देखिएको कार्यालय प्रमुख ओझाले बताउनु भयो । वहाँले भन्नुभयो, ‘हाम्रो संस्थामा हरेक तीन तीन महिनामा खाता रुजु हुन्छ तर कोरोनाको संक्रमणको समयमा लकडाउनका कारण समयमा खाता रुजु नभएका कारण त्यही समयमा बदमासी गरेको देखियो ।’
‘सधैं बजार प्रतिनिधि अधिकारीले नै खाताको रकम झिकिदिने र जम्मा गरिदिने गर्नु हुँदो रैछ’ ओझाले भन्नुभयो, ‘बैशाख १५ गते बजार प्रतिनिधि बाहिर भएकाले रकम झिक्न बाँस्तोला स्वयम कार्यालय आउँदा मात्रै खातामा पैसा नभएको थाहा भयो ।’ बजार प्रतिनिधिले बदमासी गरेको रकम बैशाख १६ गते नै फिर्ता गराएर सदस्यको खातामा जम्मा गरिसकेको कार्यालय प्रमुख ओझाले बताउनु भयो । ‘सदस्यको रकमको सम्पूर्ण जिम्मेवारी संस्थाको हुन्छ ।’ वहाँले भन्नुभयो, ‘ब्यक्तिले हिनामिना गरे पनि पासबुकमा जम्मा भएको प्रमाणित भएमा सदस्यको रकम हराउँदैन ।’
रकम हिनामिना गर्ने बजार प्रतिनिधि अधिकारीलाई संस्थाले १५ दिनका लागि निलम्बन गरेको एनएमसीका बैकिङ ब्यवशायका प्रशासन प्रमुख मनिस कोइरालाले जानकारी दिनु भयो । ‘हामीले बजार प्रतिनिधिलाई १५ दिनका लागि निलम्बन गरेका छौं’ कोइरालाले सेतोपत्रसंग भन्नुभयो, ‘यो अवधीमा वहाँले नियमित संकलन गर्ने करीब ८०० सदस्यको खाता रुजु गर्छौ ।’
सदस्यको खाता रुजु पछिको अवस्थालाई हेरेर संस्थाको नियम अनुसार बजार प्रतिनिधि अधिकारीलाई कारबाही प्रक्रिया अघि बढाउने कोइरालाले बताउनु भयो । कोइरालाका अनुसार अर्को निर्णय नहुन्जेलका लागि अधिकारीलाई रकम संकलन गर्ने कार्यमा रोक लगाएको छ भने खाता रुजु गराउने सम्बन्धमा संस्थाले सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।
एनएमसी इटाभट्टा कार्यालयका बजार प्रतिनिधि अधिकारीले सरदर दैनिक करीब दुई लाख रकम संकलन गर्ने गरेको कोइरालाले जानकारी दिनु भयो ।