झापा, बैशाख ११ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीब्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्टको धमाधम निर्माण गर्न थालेका छन । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं. १ सरकारको ७५ लाख रुपैयाँको लगानीमा अक्सिजनको प्लान्ट निर्माणाधीन छ ।
कोभिड–१९ सङ्क्रमितको उपचारका लािग ७५ शैयाको अलग अस्पताल समेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा रहेको छ ।विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बीएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन । मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको जनाएको छ ।
झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताउनु भयो ।
चार महिना अघि शुभारम्भ कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरिएको र उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने झन्झटबाट अस्पताल मुक्त भएको वहाँले बताउनु भयो । वहाँका अनुसार अस्पतालले प्रति महिना रु। १ लाख ९५ हजारका दरले कम्पनीलाई रकम बुझाएपछि पाँच वर्षपछि मात्र प्लान्ट अस्पतालको स्वामित्वमा आउने शर्त रहेको छ ।
आवश्यक अक्सिजनका सिलिन्डर निजी सप्लायर्सबाट खरिद गर्दै आएका अस्पतालहरुले आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्ति व्यवस्स्था भरपर्दो हुने विश्वास लिएका छन । मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको छ । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिण्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँँदै आएको छ । कोभिडका विरामी बढ्दै जाँदा अक्सिजनको माग अरु बढ्ने वहाँले बताउनु भयो ।
देशकै सुविधासम्पन्न अस्पतालको रुपमा परिचित विर्तामोडको वीएण्डसी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ । आफ्नै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पताल समेत सञ्चालन गर्दै आएको बीएन्डसी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिण्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनु भयो ।
‘सबै विरामीलाई अक्सिजन चाहिँदैन’, हस्पिटलका जनसम्पर्क अधिकृत गिरीले भन्नुभयो, ‘आइसीयू र जटिल समस्या भएका विरामीलाई चाहिने हुँदा अहिले यतिले पुग्दैछ ।’
हस्पिटलले हरेक शैया र इमर्जेन्सी कक्षमा अक्सिजनको पाइपलाइन पुर्याएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अक्सिजन समेत थप चाहिने हुँदा दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने तयारीका साथ प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको वहाँको भनाई छ ।
बीएन्डसी हस्पिटलले प्लान्ट निर्माणमा पाँच करोड रुपैयाँ लगानी भइसकेको जनाएको छ । हाल अस्पतालले सुनसरीको इटहरीस्थित निजी सप्लायर्सबाट अक्सिजन खरिद गर्दै आएको छ ।
भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले आगामी असार मसान्तभित्रै अक्सिजनको आफ्नै प्लान्ट सञ्चालनमा ल्याउने जनाएको छ ।
हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले हाल प्लान्टको पाइपलाइन जडान कार्य भइरहेको जनाउँदै ६० लाख रुपैयाँको लागतमा अक्सिजनको प्लान्ट जडान गरिने बताउनु भयो ।
विर्तामोडको जलकन्या सप्लायर्सबाट हाल अक्सिजनको सिलिण्डर खरिद गरिदै आएको वहाँले जानकारी दिनु भयो ।
झापाको मेची प्रादेशिक अस्पताल, विर्तामोडको बीएन्डसी हस्पिटल र भदपुरको ओमसाई पाथिभरा हस्पिटलमा सरकारी स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ । विर्तामोडमा रहेको विर्तासिटी अस्पतालले नयाँ भवन निर्माणाधीन रहेको हुँदा सोही भवनमा अक्सिजनको प्लान्ट राखिने जनाएको छ ।
[अम्बिका भण्डारी/रासस ]