झापा, असार ८ । नेपालको पूर्वी भूभागमा अवस्थित झापा प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाले सम्पन्न जिल्ला हो । चिया बगान, हरियाली वन, नदी–नाला र धार्मिक स्थलहरूले भरिपूर्ण झापामा महाभारतकालसँग सम्बन्ध जोडिएका केही महत्वपूर्ण स्थानहरू पनि रहेका छन् ।
झापामा रहेका विराटपोखर, अर्जुनधारा धाम, पतालगंगा र किच्चकबध स्थल महाभारतकालीन घटनासँग जोडिएका चार महत्वपूर्ण गन्तव्य हुन् । यी स्थानहरू धार्मिक आस्थाका केन्द्र, प्राचीन इतिहास र सभ्यताको साक्षीका रूपमा परिचित रहेका छन् । जसले इतिहास, संस्कृति, धार्मिक आस्था र पर्यटनलाई एकै सूत्रमा बाँध्ने क्षमता राख्छन् ।
उचित संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकास गर्न सके यी स्थलहरू झापाको पर्यटन प्रवद्र्धनका प्रमुख आधार बन्न सक्छन् ।
विराट राजाले खनेको विराटपोखर
बिर्तामोड नगरपालिका–२ मा अवस्थित विराटपोखर झापाको प्राचीन र ऐतिहासिक सम्पदामध्ये एक मानिन्छ । करिब पाँच बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको यो पोखरी महाभारतकालीन विराट राजासँग सम्बन्धित रहेको जनविश्वास छ ।
महाभारतका अनुसार पाण्डवहरू वनवासका अन्तिम वर्षमा अज्ञातवास बिताउन विराट राजाको राज्यमा पुगेका थिए । त्यही विराट राज्यको एक भागका रूपमा आजको विराटपोखर क्षेत्रलाई हेर्ने गरिन्छ ।

किंवदन्तीअनुसार राजा विराटले आफ्ना प्रजाको उपयोगका लागि यो पोखरी निर्माण गराएका थिए । पोखरी परिसरमा रहेका काली र दुर्गा मन्दिरहरूले यसको धार्मिक महत्वलाई अझ बढाएका छन् । वर्षभरि विभिन्न धार्मिक गतिविधि सञ्चालन हुने यस क्षेत्रमा विशेषगरी दशैं, तिहार र अन्य पर्वका बेला भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गर्छ । पछिल्लो समय पोखरी वरिपरि पदमार्ग, बगैँचा, विश्रामस्थल र सौन्दर्यीकरणका कार्यहरू गरिएका छन् । यसले आन्तरिक पर्यटकलाई आकर्षित गर्न थालेको छ । तर अझै पनि यसको ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न आवश्यक देखिन्छ । यदि विराटपोखरलाई महाभारतकालीन सम्पदाका रूपमा वैज्ञानिक अध्ययन, दस्तावेजीकरण र पर्यटन प्रवद्र्धनसँग जोड्न सकियो भने यो झापाको प्रमुख ऐतिहासिक पर्यटन केन्द्र बन्न सक्छ ।
अर्जुनको नामसँग जोडिएको अर्जुनधारा धाम
झापाको धार्मिक पर्यटनको चर्चा गर्दा अर्जुनधारा धामको नाम अग्रपंक्तिमा आउँछ । अर्जुनधारा नगरपालिका–७ मा अवस्थित यो धाम पूर्वी नेपालको प्रसिद्ध धार्मिक गन्तव्य हो । महाभारतकालमा पाँच पाण्डवलाई १२ वर्ष वनवासका साथ एक वर्ष अज्ञातवास भएको समयमा राजा विराटका हजारौँ गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटी पु¥याएको र त्यो बेलामा अर्जुनले आफ्नो वाणको सहायताले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको किंवदन्ती छ । अर्जुनधाराको मुख्य आकर्षण प्राकृतिक जलधारा, शिव मन्दिर, धार्मिक संरचना र हरियाली वातावरण हो । यहाँ आउने दर्शनार्थीहरूले धार्मिक आस्था मात्र होइन, प्राकृतिक शान्ति र सौन्दर्यको अनुभूति पनि प्राप्त गर्छन् ।

साउन महिनामा लाग्ने बोलबम मेला तथा महाशिवरात्री पर्वका अवसरमा हजारौँ भक्तजन यहाँ पुग्ने गर्छन् । नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत श्रद्धालुहरू आउने भएकाले यो धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनेको छ ।
अर्जुनधारालाई धार्मिक पर्यटनसँगै सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । स्थानीय संस्कृति, परम्परा र धार्मिक गतिविधिलाई समेटेर पर्यटकका लागि आकर्षक प्याकेज तयार गर्न सकिए यस क्षेत्रको आर्थिक गतिविधि समेत सुदृढ बन्न सक्छ ।
पतालगंगा : इतिहास र प्रकृतिको संगम
झापाको मेचीनगर नगरपालिका क्षेत्रमा रहेको पातालगंगा अर्को महत्वपूर्ण महाभारतकालीन स्थल हो । हरियाली चियाबारी र प्राकृतिक वातावरणबिचमा रहेको यो स्थानले धार्मिक तथा पर्यटकीय दृष्टिले विशेष महत्व राख्छ । महाभारतकालमा पाण्डवहरूले अज्ञातवासका क्रममा यस क्षेत्रमा समय बिताएको बिश्वास गरिन्छ । गौचरनमा गएको बेला तिर्खालागेपछि अर्जुनले जमिनमा वाण प्रहार गरि पतालबाट पानी उत्पत्ति गराएर आफ्नो तिर्खा मेट्टाएको किंवदन्ती रहेको छ । त्यहाँ अहिलेपनि निरन्तररुपमा जमिनबाट पानी उत्पत्ति भइरहन्छ । यहाँको जललाई पवित्र मानिन्छ ।
चियाबारी र हरियालीको बिचमा रहेको पतालगंगा पुग्ने पर्यटकले धार्मिक आस्थासँगै प्रकृतिको अनुपम आनन्द लिन सक्छन् ।

पतालगंगा नजिकै रहेको ऐतिहासिक शिवालय मन्दिर र भर्खरै स्थापना गरिएको १०८ शिवलिङ्गले यो स्थानको महत्वलाई अझै उचाइमा पुर्याउन मद्घत गरेको छ । यद्यपि अन्य धार्मिक स्थलको तुलनामा पतालगंगा अझै पनि ओझेलमा परेको देखिन्छ । उचित प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माण गर्न सके यो क्षेत्र धार्मिक तथा इको–टुरिजमको उत्कृष्ट गन्तव्य बन्न सक्छ ।
पूर्वी नेपाल भ्रमणमा आउने पर्यटकका लागि पातालगंगा इतिहास, रहस्य र प्रकृतिको संगम अनुभव गर्ने अनुपम स्थल बन्ने सम्भावना बोकेको छ ।
भीमको पराक्रमको कथा बोकेको किच्चकबध
महाभारतकालीन कथामा निकै चर्चित घटना हो—किच्चकबध । विराट राजाको दरबारमा सेनापति रहेका किच्चकले द्रौपदीमाथि दुव्र्यवहार गर्न खोजेपछि भीमले उनको वध गरेका थिए । यही घटनासँग सम्बन्धित स्थलका रूपमा झापाको किच्चकबध क्षेत्र परिचित छ ।
यहाँ पुग्ने आगन्तुकहरूले केवल एउटा धार्मिक स्थलको अवलोकन मात्र गर्दैनन्, महाभारतको जीवित इतिहाससँग साक्षात्कार गर्ने अवसर पनि प्राप्त गर्छन् । स्थानीय स्तरमा यो स्थलप्रति विशेष श्रद्धा रहेको पाइन्छ । तर यसको ऐतिहासिक महत्वअनुसार आवश्यक संरक्षण र प्रचार–प्रसार भने अझै पर्याप्त हुन सकेको छैन । पुरातात्विक अध्ययन र पर्यटन पूर्वाधार विकास गर्न सके किच्चकबधलाई राष्ट्रिय स्तरको ऐतिहासिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ ।

पर्यटनको नयाँ सम्भावना
विराटपोखर, अर्जुनधारा, पातालगंगा र किच्चकबध—यी चारवटै स्थललाई एउटै ‘महाभारत सर्किट’ का रूपमा विकास गर्न सकिने ठूलो सम्भावना छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका यी गन्तव्यहरू एक–अर्कासँग जोडिएका छन् । यदि यी स्थानहरूलाई एउटै पर्यटन मार्गका रूपमा प्रचार गरियो भने पर्यटकले एकै यात्रामा महाभारतकालीन इतिहासका विभिन्न पाटोको अनुभव गर्न सक्नेछन् । यसले बसोबास, यातायात, होटल, रेष्टुरेन्ट, स्थानीय हस्तकला तथा कृषि उत्पादनको बजार विस्तारमा समेत योगदान पु¥याउनेछ ।
पर्यटन केवल घुमफिरको विषय मात्र होइन, स्थानीय अर्थतन्त्रको आधार पनि हो। त्यसैले यी स्थलहरूको संरक्षण र विकाससँगै स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा जोड्न आवश्यक छ । स्थानीय संस्कृति, परम्परा, लोककला र खानाका परिकारलाई पर्यटनसँग जोड्न सकियो भने यसको लाभ अझ व्यापक बन्नेछ ।
निष्कर्ष
झापामा रहेका विराटपोखर, अर्जुनधारा धाम, पातालगंगा र किच्चकबध स्थल केवल धार्मिक आस्थाका केन्द्र मात्र होइनन्, महाभारतकालीन इतिहासका जीवित साक्षी पनि हुन् । यी स्थानहरूले हजारौँ वर्ष पुरानो सभ्यता, संस्कृति र जनविश्वासलाई आजसम्म जोगाइरहेका छन् ।
इतिहासका पानाबाट वर्तमानसम्म आइपुगेका यी सम्पदाले झापाको पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छन् । आवश्यक संरक्षण, अध्ययन, पूर्वाधार विकास र प्रभावकारी प्रचार–प्रसार गर्न सके झापालाई महाभारतकालीन ऐतिहासिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा परिचित गराउन ‘महाभारत सर्किट’ का रुपमा विकास गरी पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।