झापा,असोज २५ । कोशी प्रदेशमा राप्रपालाई मनाउन नेकपा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका रुपमा आघि सारिने भएको छ ।
कांग्रेस संसदिय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रिमा सघाउन राप्रपाले आनाकानी गरेपछि यसअघि आफनै नेतृत्वमा सरकार बनाउने अडान लिएका कांग्रेस पछि हटेको हो । सत्ता गठबन्धनको आज बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । कोशी प्रदेशमा समर्थन दिनुपर्ने सर्तमा माओवादी केन्द्रले संघीय संसद्को विकास समितिको नेतृत्व राप्रपालाई दिएको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्दा सहकार्यका लागि सजिलो हुन्छ भन्ने जवाफ पाएपछि माओवादीलाई मुख्यमन्त्रि छाड्नुपर्ने परिस्थिति बनेको हो ।
दुइपटक मुख्यमन्त्रि पाएपछि पनि विश्वासको मत प्राप्त गर्न नसकेपछि थापालाई फेरी पनि मुख्यमन्त्रि दिन नहुने कागेँस भित्र र बाहिर पनि माग हुदै आएको थियो । राप्रपाको साथ बिना विश्वासको मत पाउन असम्भव हुने परिस्थिती भएपछि राप्रपालाई मनाउनकै लागि भएपनि आङ्बोलाई अघि सारिएको हो ।
कोशी सरकारबारे निर्णय गर्न राप्रपाले भोलि पार्टीको औपचारिक बैठक नै बोलाएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको हो । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिनुभएको छ । बहुमत पु¥याउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिनुभएको थियो ।
गठबन्धन सरकारमा मधेस प्रदेशको नेतृत्व जसपाले गरेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार छ । बागमती र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीले अब कोशीमा पनि मुख्यमन्त्री पाउने भएको हो ।
यसैबिच सत्तारुढ गठबन्धनको निर्यणले कांग्रेसको शेखर कोइराला पक्ष भने आक्रोशित बनेको छ । कोइराला पक्षका सांसद केदार कार्कीले आफू मुख्यमन्त्री बन्नुपर्ने अडान राख्दै आउनुभएको छ । दलका शीर्ष नेताको बैठकले माओवादी नेता आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने सहमति गरेपछि कार्कीले आफ्नो पक्षका केही सांसदको हस्ताक्षर देखाएर एमालेसँग छलफल गरिरहेको बताइएको छ ।