काकरभिट्टा, असोज २४ । लैङ्गीक तथा यौनिक अल्पसंख्यकहरुले अहिले पनि समाजले आफुहरुलाई सहजै स्वीकार नगरको गुनासो गरेका छन । काकरभिट्टामा आज आयोजित लैङ्गीक तथा यौनिक अल्पसंख्यक समुदाय र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै लिड नेपालकी झापा संयोजक नूमा लिम्बु चन्चलाले समाजले अहिले पनि लैङ्गीक तथा यौनिक अल्पसंख्यक(तेस्रो लिङ्गी) हरुलाई स्वीकार गर्न अप्ठ्यारो मानेको बताउनु भयो ।
लैङ्गीक तथा यौनिक अल्पसंख्यकका रुपमा आफु १५ बर्ष अघि समाजमा खुलेर हिडेको भए पनि समाजले अझै पनि हामीलाई हेर्ने दृष्टीकोण सकारात्मक नभएको चन्चलाले बताउनुभयो । ‘हामी पनि पूरुष र महिला जस्तै काम गर्न सक्छौं,’ चन्चलाले भन्नुभयो, ‘तर हामीलाई रोजगारीको अवसर नै दिइदैंन ।’ कानूनी जटिलताका कारण नागरिकता, पासपोर्ट, सवारी लाइसेन्स, विवाह दर्ता जस्ता कागजात बनाउन धेरै जटिल हुने गरेको चन्चलाले बताउनुभयो ।
लैङ्गीक तथा यौनिक अल्पसंख्यक भएकैले नागरिकता बनाउन नसकेको मेचीनगर ६ की परी कार्कीले बताउनुभयो । ‘नागरिकता बनाउन दुई बर्ष कुदे तर अहिलेसम्म नागरिकता बनेको छैन,’ परीले भन्नुभयो, ‘बिहे गरेको पनि डेढ बर्ष भयो तर नागरिकता पनि बनेको छैन र बिवाह दर्ता पनि भएको छैन ।’ महिला जनचेतना केन्द्र काकरभिट्टाको आयोजना गरेको कार्यक्रममा केन्द्रकी कार्यकारी निर्देशक राधा प्रधानले लैङ्गीक तथा यौनिक अल्पसंख्यकहरुलाई पनि सामान्य जीवनयापनका लागि सबैले सहयोग गरेर समाजमा सर्बस्वीकार्य बनाउनु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्दै मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले लैङ्गीक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई रोजगारीको अवसरका लागि वाणिज्य संघले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । केन्द्रकी अध्यक्ष सिता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको तर्फबाट कार्यक्रम संयोजक मनिला उप्रेतीले प्रस्तुतीकरण गर्नु भएको कार्यक्रममा लिड नेपालका तर्फबाट नूना लिम्बुले लैङ्गीक तथा यौनिक अल्पसंख्यकहरुको अवस्था र चुनौतिका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागिहरु ।
होटल व्यवशायी संघ मेचीनगरको सभाहलमा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं. ६ वडा सदस्य, महिला जनचेतना केन्द्र, लिड नेपाल, विश्व सेवा विस्तार, माइति नेपाल, नेपाल प्रहरी, पत्रकार लगायत करीब ३० जनाको सहभागिता रहेको थियो ।