मेचीनगर, जेठ ५ । मेचीनगर नगरपालिका परिषरमा जोडिएको धारा काटिएको छ । लामो समयदेखि खानेपानीको महशुल नबुझाएको भन्दै काँकरभिट्टा खानेपानीले नगरपालिका परिषरमा जोडिएको दुई वटा धारा काटिदिएको हो । बारम्बार जानकारी गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको र महशुल बुझाउने तर्फ चासो नै नदिएकाले धारा काटिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष राजकुमार पराजुलीले सेतोपत्रसगँ बताउनुभयो ।
सात लाख भन्दा धेरै रकम नगरपालिकाले बुझाउन बाँकी रहेको उहाँको भनाई छ । ‘तीन बर्ष भन्दा धेरै समयको सात लाख भन्दा धेरै रकम बक्यौता छ, प्रत्येक महिना रिडिङका क्रममा महशुलको बिल दिने गरिएको छ तरपनि नगरले यस तर्फ चासो देखाएको छैन जसका कारण बाध्य भएर धारा काटिएको हो ।’ अध्यक्ष पराजुलीले भन्नुभयो । उहाँका अनुसार नगरपालिकाको मातहतमा १४ वटा धारा रहेपनि तत्काल नगर परिषरका दुई वटा मात्रै काटिएको हो ।
जसबारे बुझ्दा नगरका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सभाले निर्णय गरिसकेको र यसपाली महशुल बुझाउने बताउनुभयो । ‘समन्वय अभावका कारण यस्तो भएको हो, यसबारे निर्णय भएको छ यसपाली महशुल बुझाइन्छ ।’ सेतोपत्रसगँ कुराकानी गर्दै उहाँले भन्नुभयो ।
यसैगरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले भने धारा काट्नु अगाडी आफुलाई जानकारी नदिएको प्रति असन्तुष्टि जनाउनुभयो । ‘संस्थागत रुपमा रहेको धारा काट्नु अगाडी उक्त कार्यालय प्रमुखसगँ परामर्श गरेको भए हुने थियो म कार्यालय मै थिएँ मलाई सोधिएन ।’ उहाँले भन्नुभयो ‘यद्यपी उहाँहरुको नियमका कुराहरु होलन् अब हामी महशुल बुझाउने तर्फ लाग्नेछौँ ।’
प्रकाशित मिति:
शुक्रबार, जेठ ५, २०८०, ०७:५५:००