झापा, जेठ ३ । मेचीनगरका जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता नपाएको बिषयमा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले चासो राख्नु भएको छ । भत्ता किन नपाएको भन्दै मेचीनगर २ का जेष्ठ नागरिकहरुले आज नगरपालिका कार्यालय आएर जानकारी लिएको थाहा पाउना साथ यस क्षेत्रको प्रतिनिधि समेत रहनु भएका शर्माले यस बिषयमा चासो राख्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसंग टेलिफोन मार्फत कुरा गरेको बताउनु भयो ।
केही व्यवस्थापकीय समस्या भएको र अब केही दिनमा नै भत्ता वितरण गर्ने तयारी भएको नगरप्रमुख बुढाथोकीलाई उदृत गर्दै सांसद शर्माले सेतोपत्रलाई बताउनु भयो । ‘नगरप्रमुखसंग फोन गरेर चासो राखेकोे छु,’ शर्माले भन्नुभयो, ‘समस्या समाधान भएको र अब केही दिनमा नै भत्ता वितरण हुन्छ भन्नु भएको छ ।’
नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका सांसद शमाले ज्येष्ठ मातापिताको सेवामा राज्यले दिएको सुविधा समयमै पुर्याउन बिशेष तदारुकता राख्न समेत देशभरका सबै स्थानीय तहलाई आग्रह गर्नु भएको छ ।
भत्ता वितरणमा भएको ढिलाईको कारण बुझ्न आज दिउँसो मेचीनगर २ का जेष्ठ नागरिकहरुको एउटा समुहलाई वडा अध्यक्ष दिपक बरालले नगरपालिकाको कार्यालयमा नै लिएर आउनु भएको थियो । भत्ता किन वितरण भएन भन्ने कुरा आफुलाई समेत थाहा नहुने तर वडाका जेष्ठ नागरिकहरुले दैनिकजसो वडा कार्यालयमा आएर सोध्न थाल्नु भए पछि वहाँहरुलाई नै लिएर नगरपालिका आएको वडा अध्यक्ष बरालले बताउनु भयो । मेचीनगरले २०७९ माघ, फागुन र चैतको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन ।
प्रकाशित मिति:
बुधबार, जेठ ३, २०८०, १८:३६:००