मेचीनगर, जेठ ३ । असिनासहितको भीषण बर्षाले झापाका अधिकांश स्थानमा ठुलो क्षति भएको छ । जिल्लाका विर्तामोड, मेचीनगर आसपास लगायतका क्षेत्रमा हिजो साँझ भीषण असिनासहितको वर्षा भएको हो । जसका कारण घरको छानादेखि बालीनालीसम्ममा क्षति पुगेको छ । असिनासँगै आएको हुण्डरीले तरकारी लगायतका बालीमा क्षति पुगेको अनुमान गरिएको भए पनि बाली र भौतिक क्षतिको यकिन विवरण भने नआएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
‘असिना सहितको बर्षा भएकाले क्षति भएको छ, तर कति क्षेत्रमा क्षति भयो भन्ने चाहिँ यकिन तथ्यांक आएको छैन आज दिउँसोसम्म विवरण प्राप्त हुनेछ ।’ सेतोपत्रसँग कुराकानी गर्दै कृषि ज्ञान केन्द्र झापाका सुचना अधिकारी गणेश शिवाकोटीले भन्नुभयो । यसैगरी असिनासहितको बर्षाका कारण विर्तामोड क्षेत्रमा पनि क्षति भएको विवरण प्राप्त भएको र अन्य क्षेत्रबाट समेत क्षतिको रिपोर्टिङ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
‘इलाका विर्तामोड अन्तर्गत सञ्चार शाखाको टिनको छानोमा असिनाले क्षति पुगेको जानकारी छ ।’ प्रवक्ता रिजालले भन्नुभयो ‘अन्य क्षेत्रको समेत रिपोर्टिङ हुने क्रम छ ।’ बर्षाका कारण विभिन्न क्षेत्रमा क्षति भएपनि खडेरीका कारण खेतमै मकै सुकेर निरास बनेका किसान भने बर्षा भएसँगै खुशी भएका छन् । निरन्तरको खडेरीका कारण खेतमै मकै सुक्न थालेपछि किसान निरास थिए । तर बर्षा भएसगैँ किसानले राहत महसुस गरेका छन् ।

असिनापानीले क्षति पुर्याएको सोलार ड्रायर
प्रकाशित मिति:
बुधबार, जेठ ३, २०८०, ०७:४०:००