झापा, वैशाख १७ । इलाम नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको पारिश्रमिक वापतको रकम पशुमा फैलिएको रोग लम्पी स्कीनको नियन्त्रणमा खर्च गर्न उपलब्ध गराउने भएका छन । नगर कार्यपालिकाको वैशाख १५ गते बसेको आकस्मिक बैठकले नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्ष, कार्यपालिका सदस्य र सबै वडा सदस्यहरुले पाउने सुविधा वापतको एक महिनाको रकम रोग नियन्त्रणमा खर्च गर्ने गरी उपलब्ध गराउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रका गाई गोरुमा अत्याधिक रुपमा लम्पी स्कीन रोग फैलिए पछि नगरकार्यपालिकाको आकस्मिक बैठक बसि रोग नियन्त्रणका लागि विभिन्न निर्णयहरु समेत गरेको छ । नगरका सबै वडाका योजनाहरुबाट एक लाखका दरले रकम कटौति गरी लम्पी स्कीन रोग निणयन्त्रणका लागि औषधी खर्च गर्न प्रयोग गर्ने कार्यपालिकाले गरेको छ । त्यस्तै रोग नियन्त्रणका लागि प्राविधिक सेवा उपलब्ध गराई नगरमा सूचना प्रभाव गर्न हेल्प डेस्क स्थापना गर्ने, इलाम नगरक्षेत्रमा कार्यरत निजि क्षेत्रका पशु प्राविधिकहरुलाई समेत नगरका सबै वडामा परिचालन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
पछिल्लो समय इलामका गाई गोरुमा लम्पी स्कीन रोग अत्याधिक मात्रामा देखा परेको छ । जसका कारण दुध उत्पादनमा समेत असर परेको छ भने पशुपालक किसानहरु मारमा परेका छन ।
प्रकाशित मिति:
आईतबार, वैशाख १७, २०८०, ०७:४७:००