झापा, वैशाख १५ । हत्यामा संलग्न भएको भन्दै अदालतले सजाय सुनाएर फारार रहेका सांसद लक्ष्मी महतो कोइरीलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा सिफारिस गरेको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसद कोइरीलाई एमालेले सिफारिस गरेको हो ।
एमालेले बिहीबार संघीय संसद सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब वहाँको नाम अनुमोदन गर्नेछ ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्यामा संलग्न भएको भन्दै अदालतले सांसद कोइरीलाई सजायँ सुनाएपछि कोइरी ‘फरार’ हुनुहुन्छ । तर, वहाँले संघीय संसद् सचिवालयलाई दुई वटा पत्र लेखेर आफू अस्वस्थ भएको भन्दै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आउनु भएको छ ।
लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ । तर महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसक्नु भएको छ । कोइरीसमेत सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मङ्गलप्रसाद गुप्ता रहेका छन ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख १५, २०८०, ०९:३५:००