झापा,बैशाख ४ । झापामा नयाँ शैक्षिक सत्रको सबै पाठ्यपुस्तक आइपुग्न समय लाग्ने भएको छ । सामुदायिक बिद्यालयको पाठ्यपुस्तक आजबाट बिद्यालयमा बितरण गर्ने तयारी गरिएको भएपनि झापामा अझै सबै पाठ्यपुस्तक नआएको हो ।
धुलाबारी नमुना माध्यमिक बिद्यालय मेचीनगरका प्रध्यानाध्यापक महेन्द्र बिलास लुइटेलले कक्षा १ देखि ५ सम्मको पुस्तक आएपनि कक्षा ६ देखि १० सम्मको भने पाठ्यपुस्तक आइनपुगेको बताउनुभयो । त्यस्तै मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीका अनुसार कक्षा १ देखि ५ सम्मको पुस्तक बजारमा पर्याप्त छ । कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक भने आउने क्रममा छ ।
बैशाख ११ भित्रमा सामुदायिक बिद्यालयमा सबै पाठ्यपुस्तक पुग्ने उहाँको भनाइ छ । त्यस्तै निजि बिद्यालयको भने ७५ प्रतिशत पुस्तक आइपुगेको छ । खास गरि ५,८ र १० कक्षाको पाठ्यक्रम परिवर्तन भएकाले पनि पुस्तक आउन ढिलो भएको मेचिनगरका पुस्तक व्यवसायी मनोज घिमिरेले बताउनुभयो ।
झापामा मात्रै ५० भन्दा बढि प्रकाशन गृहका पुस्तक निजि बिद्यालयमा पठनपाठन हुने गरेको छ । त्यस्तै मेचीनगरमा मात्रै २० भन्दा बढि प्रकाशन गृहका पुस्तक निजि बिद्यालयले पठनपाठन गराउने गरेका छन । यसका कारण समयमै पुस्तक नपाउनुका साथै पुस्तक खोज्न पनि समस्या पर्ने गरेको अभिभावकहरुले गुनासो गर्ने गरेका छन ।
प्रकाशित मिति:
सोमबार, वैशाख ४, २०८०, १६:४५:००