झापा ,बैशाख १ । बैशाख१गते देखि ३गते सम्म मनाइने सिरुवा पर्वको दोस्रो दिन आज कादअ सिरुवा हिलो खेलेर एकदमै हर्षाेल्लासका साथ मनाइएको छ। राजवंशी र राजवंशी भाषी समुदायले आज आफ्नो गाउँ, घरमा खाल्डो खनेर माटो संकलन गरी माटोलाई भिजाएर हिलो बनाई सोही हिलो एक अर्कामा दलेर काद: सिरुवा खेलेका छन्।
पहिले गर: माटी(रातो माटो ) ले काद सिरुवा खेलिन्थ्यो भने अहिले गर: माटो हराउँदै गएको छ।
माटोलाई जीवन मान्ने राजवंशी समुदायमा काद: अर्थात् हिलोले शरीरलाई शितलता प्रदान गर्ने, विभिन्न प्रकारका रोगबाट मुक्ति मिल्ने, चर्मरोगहरु नलाग्ने र वर्षैभरि सुख, शान्ति र समृद्धि छाउने जनविश्वास रहिआएको छ।हिलोले छ्याप्पै भएर, हिलाम्मे
काद: सिरुवा खेलीसकेर आजै महिलाहरुले आफूलाई पायक पर्ने स्थान कुवा, कल र नदीमा गई घाटोसरी तिस्ताबुरी माताको पनि पूजाआराधना गरेका छन्।
चना,मुरै, लसुन, अदुवा र अठिया केला लगायतका सामाग्रीद्वारा पूजा गरी छातामा चढाएको पानी घरमा ल्याएर छिट्ने गर्दछन्।
तराईका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी जातीले हिजो १ गते पानी सिरुवा खेली मनाएका छन् भने भोलि रङ खेलेर सिरुवा पर्वको समापन गरिनेछ।
प्रकाशित मिति:
शनिबार, वैशाख २, २०८०, १९:२९:००