झापा,चैत २७ । झापा आन्दोलनका अगुवा तथा नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसंगै १७ बर्ष जेल जीवन बिताएका खरेल सहित १० जनाले आज पत्रकार सम्मेलन गरेर एमाले परित्याग गरेको घोषणा गर्नु भएको हो । यस अघि नै एमाले परित्याग गरेको घोषणा गर्नु भएकी एमाले झापाकी पुर्व उपसचिव चन्द्रा श्रेष्ठ समेतको हस्ताक्षर रहेको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तीमा खरेल र श्रेष्ठ सहित १० जनाले पार्टी परित्याग गरेको बताइएको छ ।
एमालेका केन्द्रीय सल्लाहकार सदस्य समेत रहनुभएका नेता खरेल सहित अन्य १० जनाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर पार्टी छोडेको घोषणा गर्नुभएको हो ।
सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाका नेता हिरा पोखरेल,खिना राना मगर, कल्पना पोखरेल,गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द शाहा, भिमप्रसाद लुईटेल, साजात आलम, पदम थापा लगायतले एमाले परित्याग गरि स्वतन्त्र नागरिकका रुपमा बस्ने निर्णय गरेको जनाउनु भएको छ ।
एमाले पार्टीभित्र स्वेच्छाचारिता बढेको उहाँहरुको आरोप छ । नेतृत्वमा देखिएको गुटबन्दि दम्भ र अहंकारले पार्टी प्रति बितृष्णा उत्पन्न भएकोे विज्ञप्तिमा उल्लेख छ ।
त्यागी र कुशल संगठका रुपमा चिनिएका नेता खरेलले एमाले परित्याग गर्नुले झापामा एमालेको संगठनलाई क्षति पुग्ने पुराना कम्युनिष्ट नेताहरु बताउँछन ।
प्रकाशित मिति:
सोमबार, चैत २७, २०७९, १८:५९:००