झापा, चैत २१ । बिषयगत शिक्षकको अभावका कारण सामुदायिक विद्यालयमा पठन पाठनमा असर परे पछि सरकारले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई नै स्वयंसेवक शिक्षकका रुपमा पठाउने तयारी गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगले सोमबार स्वयंसेवा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका र कार्यविधि पारित गरेसंगै स्वयंसेवक शिक्षक विद्यालयमा पठाउने बाटो खुलेको हो । स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकको रुपमा विद्यालयमा पठाउन सरकारको तयारी छ ।
स्वयंसेवक शिक्षक स्वेच्छिक हुनेछ । स्वयंसेवकहरुले जुनसुकै क्षेत्रमा पनि काम गर्न सक्नेछन । तर अहिले विषयगत शिक्षक अभाव भएको र सिकाइको गुणस्तर खस्किएकाले शिक्षकको रुपमा पठाउन जोड दिइएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।
विश्वविद्यालय अनुदान आयोगले सोमबार पास गरेको निर्देशिका र कार्यविधिमा लेखिएअनुसार स्वयंसेवाको अवधि तीन महिनाको हुने छ । स्वयंसेवक शिक्षकको रुपमा खटिने उच्च शिक्षाका विद्यार्थीहरुले तीन हजारदेखि पाँच हजार रुपैयाँ यातायात खर्च र ३० हजारदेखि ३२ हजार रुपैयाँसम्म निर्वाह भत्ता पाउने कार्यविधिले व्यवस्था गरेको छ ।
प्रकाशित मिति:
मंगलबार, चैत २१, २०७९, १५:४२:००