झापा, चैत ११ । सहारा नेपाल साकोसले २८ औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको स्थापना दिवसको अवशरमा यही चैत २१ गते २१ दशमलव ०९ किलोमिटर दूरीको खुला हाफ म्याराथन हुन लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गरेको हो । खुला हाफ म्याराथन दौड प्रतियोगितामा देशभरिका खेलाडीले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । आर्थिक, शैक्षिक, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको संयोजक प्रशान्त भण्डारीले जानकारी दिनुभयो ।
संस्थाको मुल कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक–प्रभुचोक–सांगवेद स्कुल–ओमचोक–कुशलचोक–अर्जुनधाराधाम–वरपीपलचोक–मिलडाँडा–प्रगतिटोल–भाङबारी–तामाङचोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।
प्रतियोगितामा महिला र पुरुषको अलगअलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।
प्रकाशित मिति:
शनिबार, चैत ११, २०७९, २०:०४:००