मेचीनगर, चैत ६ । धुलाबारीमा ‘प्रथम मेची महोत्सव’ आजबाट शुरु भएको छ ।
मेची चेम्बर अफ कमर्सको आयोजनामा २७ गतेसम्म सञ्चालन हुने महोत्सवको आज एक कार्यक्रमका बिच मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभयो ।
कार्यक्रम उद्घाटनपछि शुभकामना मन्तव्य राख्दै उहाँले नगर क्षेत्रका उद्योग व्यवसायको प्रवद्र्धनका निम्त्ति यस महोत्सवले सहयोग पुर्याउने बिश्वास व्यक्त गर्नुभएको छ ।
‘उद्योगी व्यवसायी कै क्षेत्रमा काम गर्ने संस्थाले महोत्सव आयोजना गरेकाले यस क्षेत्रको हितका लागि महोत्सव सहयोगी बन्नेछ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथी बुढाथोकीसगैँ महिला चेम्बर अफ कमर्स झापाकी अध्यक्ष प्रेमा भट्टराई, चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्ष सन्तोष अग्रवाल, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
आयोजक समितिका संयोजक रविनकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रकाश खड्काले गर्नुभएको थियो । कृषि, व्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु भएको महोत्सवमा ४० बढी स्टल राखिएको छ भने मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन लगायतका विभिन्न खेल सामाग्री तयार भइरहेको छ ।
स्थानीय रोलिङ क्लबलाई रोलिङ च्यालेन्ज गोल्डकप आयोजना गर्न आर्थिक सहयोग पुर्याउने लगायत अन्य उद्देश्य राखेर शुरु भएको महोत्सवको सहआयोजकमा रोलिङ क्लब रहेको छ ।
यसअघि भव्यताका साथ कार्यक्रम सञ्चालन गर्नका लागि मुल स्टेज तयार गरिएको भएपनि बर्षाले उद्घाटन कार्यक्रमलाई प्रभाव पार्यो । बर्षा नरोकिएपछि मुल स्टेजमा नभएर एक स्टलमा सामान्य कार्यक्रमका बिच महोत्सव उद्घाटन गरिएको महासचिव खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति:
सोमबार, चैत ६, २०७९, १५:१९:००