मेचीनगर, चैत ४ । मेची चेम्बर अफ कमर्स मेचीनगरको आयोजनामा चैत ६ गतेदेखि झापाको धुलाबारीमा ‘प्रथम मेची महोत्सव’ आयोजना हुने भएको छ ।
मेची चेम्बरको आयोजना तथा रोलिङ क्लब धुलाबारीको आयोजनामा ६ गतेबाट शुरु हुने महोत्सव २७ गतेसम्म धुलाबारी चोक पूर्व उत्तरपट्टीको कोलोनीमा सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
महोत्सव आयोजक समितिका संयोजक रविन बस्नेतका अनुसार महोत्सवमा विभिन्न किसिमका ४० बढी स्टल रहनेछन् । कृषि, व्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा कृषि उत्पादित स्टल, उद्योग उत्पादित जुत्ताका स्टल, खानाका विभिन्न परिकारका स्टल, फलफूल तथा जुसका स्टल, कपडाका स्टल, बैंक तथा बित्तीय संस्थाका स्टल लगायत रहने मेची चेम्बरकी अध्यक्ष रुक्मीणा आचार्य पोखरेलले जानकारी दिनुभयो ।
महत्सवलाई थप रोचक बनाउन मनोरञ्जनात्मक विभिन्न खेल तथा राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा प्रवेश शुल्क तोकिएको छ । प्रवेश शुल्क १०० रुपैयाँ राखिएको छ । महोत्सवमा ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई भने टिकटमा ५० प्रतिशत छुट तथा असहाय अपांगता भएका नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेची चेम्बरका महासचिव प्रकाश खड्काले बताउनुभयो ।
महोत्सवमा २० देखि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । स्थानीय रोलिङ क्लबलाई रोलिङ च्यालेन्ज गोल्डकप आयोजना गर्न आर्थिक सहयोग पुर्याउने लगायत अन्य उद्देश्यहरु राखेर महोत्सव आयोजना गरिएको महासचिव खड्काले जानकारी दिनुभयो ।
पुरानो हङकङ बजारको रुपमा परिचित धुलाबारी बजार केही वर्षयता सुस्ताउँदै गएको छ । महोत्सवले धुलाबारीलाई पुरानै अवस्थामा फर्काउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति:
शनिबार, चैत ४, २०७९, १८:२९:००