झापा, फागुन २२ । ८० प्रतिशत नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्यका साथ शुरु भएको आम औषधि अभियान अन्तर्गत झापामा ६५ प्रतिशत नागरिकले औषधि सेवन गरेका छन् ।
जिल्लामा आम औषधि अभियान अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालय झापाले उपलब्ध गराएको जानकारी अनुसार अहिलेसम्म ६५ दशमलव ७ प्रतिशत अर्थात ६ लाख ६४ हजार ३ सय ४४ नागरिकले औषधि सेवन गरेका छन् ।
जसमा सबैभन्दा धेरै औषधि सेवन गराउने पालिकामा बुद्धशान्ति गाउँपालिका अग्रस्थानमा छ । बुद्धशान्तिमा ८५ दशमलव ६ प्रतिशत नागरिकले औषधि सेवन गरेको तथ्यांक छ ।
यसैगरी दमक नगरपालिका दोस्रो स्थानमा छ जहाँ ७८ प्रतिशतले औषधि खाएका छन् । आम औषधि सेवन अभियान अन्तिम चरणमा पुगेको र प्रभावकारी बनेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन बिश्वनाथ श्रेष्ठले सेतोपत्रसगँ बताउनुभयो ।
‘अधिकांश पालिकामा अभियान अन्तिम चरणमा पुगेको छ, हामी औषधि अभियानमा सफल भइरहेका छौँ ।’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार सिकिस्त बिरामी, २ बर्ष मुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला लगायतलाई भने औषधि खुवाइएको छैन । जिल्लामा गत ११ गतेदेखि औषधि खुवाउने कार्यक्रम सुरु भएको थियो ।
प्रकाशित मिति:
सोमबार, फागुन २२, २०७९, १०:५८:००