मेचीनगर, फागुन २२ । आचारसंहिताको सम्पुर्ण रुपमा पालना गर्दै पूर्वनिर्धारित समयमै निर्वाचन गराउन माग गर्दै नेपाल विद्यार्थी संघले काँकरभिट्टा बहुमुखी क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिलाई ज्ञापन पत्र बुझाएको छ ।
क्याम्पस प्रशासनले निर्धारण गरेकै समयसिमामा विद्यार्थी भर्ना भइरहेकोमा केहि विद्यार्थी संगठनले क्याम्पसमा अराजक गतिविधि गरेको भन्दै त्यसतर्फ संगठनको गम्भिर ध्यानाकर्षण भएको पनि नेवि संघले जनाएको छ ।
‘केहि विद्यार्थी संगठनका प्रतिनिधिहरु बाहिरबाट आएर अराजक गतिविधि गर्दै भर्ना रोक्न खोज्ने, निर्वाचनका पदाधिकारीहरुलाई कालोमोसो दल्छौँ भनि धम्की दिने र निर्वाचनका प्रतिनिधि तथा क्याम्पसका केहि कर्मचारीहरुलाई जागिरबाट हटाउछौँ भन्ने जस्ता अमानवीय गतिविधि भएकोमा त्यसप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ नेवि संघ ईकाइ कमिटि सभापति भरतकुमार चौँलागाईद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा लेखिएको छ ।
संघले एक्कासी सुचना मार्फत निर्वाचन कार्यक्रम स्थगित गरिएको प्रति पनि आपत्ती जनाएको छ । नेतृत्व छनोटका लागि निर्वाचनको विकल्प नहुने भन्दै पूर्वनिर्धारित कार्यतालिका अनुसार नै भयरहित र शान्तिपुर्ण वातावरणमा निर्वाचन गराउन संघले माग गरेको हो ।
प्रकाशित मिति:
सोमबार, फागुन २२, २०७९, ०९:४४:००