झापा, फागुन २२ । रंगहरुको पर्व होलीलाई लक्षित गरी झापा प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । सम्भावित उच्छृङ्खल गतिविधिलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको झापा प्रहरीका प्रवक्ता खगेन्द्र रिजालले सेतोपत्रसगँ बताउनुभयो ।
‘थप प्रहरी जनशक्ति परिचालन गरेका छौँ भने पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकल गस्तीलाई पनि प्राथमिकतामा राखेका छौँ ।’ उहाँले भन्नुभयो ‘ सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबरजस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा यस्ता कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारेका हौँ ।’
उहाँका अनुसार पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सचेतनामुलक सामाग्रीहरु विभिन्न माध्यमबाट प्रशारण गरिएको छ । मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, विना हेलमेट मोटरसाइकल चलाउने, दुई जना भन्दा धेरै बसेर मोटरसाइकलमा यात्रा गर्ने लगायतका गतिविधि नगर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘यदि यस्ता गतिविधि गरेको पाइए कारवाही गरिनेछ ।’ उहाँले भन्नुभयो ।
वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्दै मनाइने होली पर्व आज पहाडी जिल्लाहरुमा हर्षेल्लासका साथ मनाइदैँछ । यस पर्व भोलि तराई तथा भित्री मधेसका जिल्लाहरूमा मनाइन्छ ।
पर्वलाई मर्यादित र व्यवस्थित बनाउन झापा प्रहरी सक्रिय बनेको हो । आजैबाट सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति:
सोमबार, फागुन २२, २०७९, ०८:१७:००