झापा, फागुन १९ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । राष्ट्रपति निर्वाचनका लागि दुई रंगका मतपत्र प्रयोगमा ल्याउने भएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार संघिय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सासंदहरुका लागि रातो रंगको मतपत्र हुनेछ भने प्रदेशसभाका सांसदहरुका लागि हरियो रंगको मतपत्र हुनेछ ।
मतपत्रको पहिलो क्रमसंख्यामा नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेद्वार रामचन्द्र पौडेलको फोटो र नाम हुनेछ भने दोस्रो क्रमसंख्यामा नेकपा एमालेका उम्मेद्वार सुवासचन्द्र नेम्वाङ्गको फोटो र नाम हुनेछ । मतपत्रको बाँया तर्फ उम्मेद्वारको फोटो र नाम हुनेछ भने दायाँ तर्फ मतदान गर्न मत संकेत गर्नु पर्नेछ ।
राष्ट्रपतिका लागि नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका आठ दलले रामचन्द्र पौडेललाई मतदान गर्ने सहमति गरेका छन भने सुवासचन्द्र नेम्वाङ्गलाई एमालेले उम्मेद्वार बनाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिमा कसलाई मतदान गर्ने भनेर अहिलेसम्म निर्णय गरिसकेका छन ।


प्रकाशित मिति:
शुक्रबार, फागुन १९, २०७९, १३:४२:००