झापा, फागुन १८ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ ।
निशान लिम्बू, यामी र सुशील राईको उत्कृष्ट प्रदर्शनमा केएफटीसीले पाहुना टिम भारत कर्स्याङको युनाइटेड कर्स्याङ फुटबल क्लब (युके एफसी) लाई ३–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
नेपाल पुलिस क्लबलाई पराजित गरेको केएफटीसीले कर्स्याङविरुद्ध पनि लगातार काउन्टर एट्याक गरेको थियो । काँकरभिट्टाको जितमा खेलको २५ औं मिनेटमा यामीले पहिलो गोल गरेका थिए ।
निशान लिम्बूले पासमा उनले गोलरक्षक मनोज प्रधान बिट भएको मौकामा गोल गरे । खेलको ५१ औं मिनेटमा यामीकै पासमा सुशील राईले दोस्रो गोल गर्दै २–० ले अग्रता दिलाए ।
खेलको ९० औं मिनेटमा कर्स्याङका रोशन भुजेलले सुशील राईलाई बक्स एरियामा लडाएपछि प्राप्त पेनाल्टीमा निशान लिम्बूले गोल गरेका थिए ।
युके एफसीका लागि पहिलो हाफको इन्ज्युरी समयमा प्रतीक लामाको पासमा हेमराज भुजेलको हेडर गोलमा परिणत भएको थियो ।
प्रतियोगिता अन्तर्गत आजको खेल जिल्ला फुटबल संघ मोरङ र क्यामरुनी टिम एभिनियर एफसीबीच हुनेछ ।
प्रकाशित मिति:
बिहिबार, फागुन १८, २०७९, ०७:४४:००