झापा, फागुन १३ । तेह्रथुममा हिजो दिउँसोबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
जिल्लाको आठराई गाउँपालिका ६ हात्तीखर्कमा हिजोबाट शुरु भएको आगलागी अझै पनि पुर्ण रुपमा नियन्त्रणमा आउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बुले सेतोपत्रलाई जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आगलागीबाट १४ घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् । सदरमुकामबाट ३ घण्टाको दुरीमा पर्ने वस्तीमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि छिमेकी जिल्ला पाँचथरको फिदिमबाट दमकल आएको भएपनि दमकलको खासै प्रयोग भएको छैन ।
“जंगलमा आगलागी भइरहेको छ, दमकल जाने ठाउँ छैन ।” उहाँले भन्नुभयो “दमकल जाने ठाउँ नभएका कारण प्रहरी, स्थानीय र जनप्रतिनिधिहरुले नियन्त्रणको प्रयास गरिरहनुभएको छ ।”
आगलागीबाट कति क्षती भयो भन्ने यकिन तथ्यांक पनि प्राप्त भइ नसकेको उहाँले बताउनुभयो । “तथ्यांक घट्नास्थलमा हुनुहुने साथीहरुले संकलन गरिरहनुभएको छ, प्रमुख जिल्ला अधिकारी सहितको हाम्रो टोली घट्नास्थल तर्फ जाँदैछ ।” उहाँले भन्नुभयो ।
गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट हिजो दिउँसो सल्किएको डढेलो साँझ बस्तीमा पुगेको थियो ।बस्तीमा १४ घर जलेर नष्ट भएका छन् भने आगलागी नियन्त्रणमा आउन सकेको छैन । आगो पुर्ण रुपमा नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्तीसमेत जोखिममा परेका छन् ।
प्रकाशित मिति:
शनिबार, फागुन १३, २०७९, ०९:२५:००