झापा, फागुन ५ । खाना पकाउने ग्यास बिस्फोटमा परि गम्भिर घाइते हुनु भएका नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको आज एकै दिन दुई वटा अप्रेशन हुने भएको छ ।
भारतको मुम्बईस्थीत नेशनल वर्न सेन्टरको आयुसियुमा राखेर उपचार भइरहेको भण्डारीको आज विहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो अप्रेशन हुने भएको उपचार समन्वयलाई भण्डारीलाई लिएर मुम्बई जानु भएका काँग्रेस नेता योगराज कँडेलले बताएको काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सेतोपत्रलाई जानकारी दिनुभयो ।
नेशनल वर्न सेन्टरका चिकित्सकहरु सुनिल केस्वनी, डा संदीप मिस्त्री र डा अमुलको टोलीले भण्डारीको उपचार गरिरहेको छ । चिकित्सकहरुका अनुसार सांसद भण्डारीको शरिरका सबै पारामिटरहरु सामान्य अवस्था रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको मुम्बईबाट काँग्रेस नेता कँडेलले पठाएको विवरणमा उल्लेख छ ।
विवरण अनुसार ४८ घण्टा भेन्टिलेटरमा राख्ने, एण्टीवायोटिकलाई निरन्तरता दिने र शरिरमा फ्लुडको मात्रा दोब्बर गर्ने बताइएको छ । सांसद भण्डारीको मुटुको चाल समेत सामान्य अवस्थामा रहेकाले वहाँ खतरा मुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।
काठमाण्डौको बुद्धनगरस्थीत घरमा बुधबार राति खाना पकाउने ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र वहाँकी आमा हरिकला भण्डारी गम्भिर घाइते हुनु भएको थियो । तत्काल किर्तिपुरस्थीत राष्ट्रिय वर्न अस्पतालमा उपचार गरिएकोमा आमा हरिकलाको हिजो बिहान उपचारकै क्रममा निधन भएको छ भने सांसद भण्डारीलाई हिजै अपरान्ह थप उपचारका लागि भारतको मुम्बई लगिएको हो ।
प्रकाशित मिति:
शुक्रबार, फागुन ५, २०७९, ०७:१९:००