झापा, माघ २० । नेपाली भाषीको बाहुल्य रहेको भारतको सिक्किम राज्यका नेपाली भाषीलाई आप्रबासी विदेशीको संज्ञा दिने गरी भारतको सर्बोच्च अदालतले फैसला सुनाएको छ । सुप्रिम कोर्ट अफ इण्डीयाको एउटा आयकर छुट सम्बन्धी मुद्दाको फैसलामा सिक्किमका नेपालीभाषी जनतालाई आप्रवासी विदेशीको हैसियत दिएको हो । अदालतको फैसालासंगै त्यसको विरोधमा अहिले सिक्किमभरी विरोध प्रदर्शन तीव्र भएको छ ।
भारतीय सर्वोच्च अदालतले पछिल्लो फैसलामा सिक्किममा रहेका नेपाली भाषा बोल्ने नागरिकलाई आप्रवासी र विदेशी करार गरेको भन्दै सिक्किमका नागरिक आक्रोशित भएका हुन । गान्तोक लगायत मुख्य बजारहरुमा प्रदर्शन चर्केको भारतका सञ्चारमाध्यमहरुले लेखेका छन । सिक्किम स्टुडेन्ट्स एशोसियसन दिल्लीलगायत संस्थाले सर्वोच्चको फैसलाविरुद्ध वक्तव्य जारी गर्दै यही रबैया कायम रहे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन ।
‘यसअघि समेत हामीलाई परदेशीजस्तो गरी व्यवहार गरिन्थ्यो, अब त अदालतकै फैसलामा हामीलाई गलत धारणा र परिभाषाको शिकार बनाउन खोजिएको छ,’ एशोसियसनका अध्यक्ष रिगेल तामाङले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘संविधानको आठौं अनुसूचीको खिलाफ हुनेगरी आएको फैसलाले नेपाली भाषा बोल्ने नागरिकको भावनामाथि अपमान भएको छ । हामी यसको विरोध गर्छौं र पुनरावेदनका लागि अपील पनि गछौं ।’ बक्तव्यमा भनिएको छ । स्रोतका अुनसार सिक्किमको सरकार चलाइरहेको पार्टी, विपक्षी सबै कार्यकर्ताहरुले अदालती कदमको विरोध गरेका छन ।
प्रकाशित मिति:
शुक्रबार, माघ २०, २०७९, ०६:५९:००