झापा, माघ १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पुर्णप्रसाद चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । चुडाललाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । पदको दुरुपयोग गरेर घुस माग्ने कार्यमा संलग्न व्यवस्थापन शाखा प्रमुख (प्रबन्धक) चुडाललाई अख्तियारको टोलीले सोमबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।
नवौं तहका कर्मचारी चुडालले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्नका लागि पास उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका खुल्न आएको छ ।
त्यसका लागि वहाँले एकमुष्ट १ लाख ५० हजार रुपैयाँ माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो बारेको उजुरी अख्तियारसम्म पुगेपछि सोमबार अख्तियारको केन्द्रीय कार्यालयबाट टोली विमानस्थलमा पुगेको थियो ।
टोलीले सुरुमा चुडाललाई कार्यकक्षबाट एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनु भयो । त्यसपछि खानतलासी गर्दा कार्यकक्षभित्र रहेको स्टिलको दराजबाट थप आठ लाख रुपैयाँ बरामद भएको वहाँको भनाइ छ । अख्तियारको टोलीसमक्ष चुडालले ८ लाखको स्रोत खुलाउन नसकेको बताइएको छ ।
यस्तै वहाँको साथबाट विभिन्न ब्रान्डका ९ बोतल मदिरा, ४ थान मोबाइलसमेत बरामद भएको छ । अख्तियारका अनुसार चुडालले पास बनाउन सेवाग्राहीबाट १० हजारका दरले १५ महिना बराबरको रकम दिनुपर्ने भन्दै घुस माग गर्नु भएको थियो । पक्राउपछि चुडालमाथि थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।
अख्तियारले पक्राउ गरेका चुडाललाई एक बर्ष अघि मात्रै झापामा उत्कृष्ट नागरिकको सम्मान दिइएको थियो । चन्द्रगढी विमानस्थल प्रमुख रहेका बेला विमानस्थलको स्तरउन्नती र रात्री कालिन उडान सञ्चालनका लागि प्रभावकारी नेतृत्व गरेको भन्दै बीरता जेसीजले हरेक बर्ष प्रदान गर्ने उत्कृष्ट नागरिकको सम्मान चुडाललाई समेत प्रदान गरिएको थियो ।
प्रकाशित मिति:
मंगलबार, माघ १०, २०७९, ०८:०६:००