झापा, माघ १० । मेचीनगरमा जंगली हात्ती नियन्त्रणका लागि दुई वटा क्षेत्रमा विद्युतीय तारवार (सोलार फेन्सिङ) को काम भइरहेको छ । मेचीनगरस्थीत चारआली वन क्षेत्रमा ६ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा ९ किलोमिटर गरी जम्मा १५ किलोमिटर विद्यतुीय तारवारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिनु भयो । जसमध्ये चारआली वन क्षेत्रको ६ किलोमिटर विद्युतीय तारवारको काम सकिएको छ । दुवै वन क्षेत्रमा चैतसम्म काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ ।
भ्याटबाहेक रू दुई करोड ३५ लाख १५ हजारको लागतमा दुई वनमा विद्युतीय तारवारको काम भइरहेको हो । नेपाल सरकारको लगानीमा प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको प्रमुख गौतमले बताउनु भयो । यहाँ जडान गरिएको ‘अफसेट’ सोलार प्यानलको विद्युतीय तारवार हुलमा आउने हात्ती नियणन्त्रका लागि प्रभावकारी हुने वहाँको भनाइ छ ।
हात्ती संरक्षणसँगै मानव बस्ती जोगाउने उद्देश्यले विद्युतीय तारवार निर्माण गरिएको हो । झापा, मोरङ र सुनसरीमा हात्ती नियन्त्रणका लागि काम भइरहेको प्रमुख गौतमले बताउनुभयो । टुक्रा टुक्रामा सोलार फेन्सिङको काम हुँदा हात्ती नियन्त्रणको काम प्रभावकारी हुन सकेको छैन । जलथलदेखि चुरेसम्म एकै पटक सोलार फेन्सिङको काम हुन सके प्रभावकारी हुने गौतम बताउँनु हुन्छ ।
झापा, मोरङ र सुनसरीमा बर्सेनि ५÷६ वटा हात्ती करेन्ट लागेर मर्ने गरेका छन । त्यसमा पनि झापामा हात्तीको मृत्यु संख्या धेरै छ । पछिल्लो समय झापामा ३ वटा हात्तीको मृत्यु भएको छ । हात्तीलाई ठूलो क्षेत्रफल र धेरै आहार चाहिने तर यहाँका वनमा पर्याप्त हात्तीको आहारा नहुँदा बस्ती पस्ने गरेका छन । जसका कारण जनधनको क्षति हुने गरेको छ ।
प्रकाशित मिति:
मंगलबार, माघ १०, २०७९, ०७:२७:००