मेचीनगर, माघ ९ । झापामा काँचो सुपारी संकलन र प्रसोधन गर्न बन्द भएको छ । काँचो सुपारी संकलन गरी प्रसोधन गर्ने व्यवशायीहरुको शनिबार सम्पन्न भेलाले तत्कालका लागि संकलन र प्रसोधनको काम बन्द गर्ने निर्णय गरेसंगै आइतबारदेखि झापाका सबै सुपारी प्रसोधन केन्द्रहरुले काँचो सुपारी लिन बन्द गरेको एक व्यवशायीले बताउनु भयो ।
‘झापाको सुपारीमा मात्रै ६० करोडको राजश्व छली’ भन्ने शिर्षकमा सेतोपत्र डटकमले शनिबार बिहान समाचार प्रकासित गरेको थियो । उक्त समाचार आए लगत्तै झापा, मोरङ र सुनसरीका सुपारी व्यवशायीहरुको मेचीनगरमा भेला सम्पन्न भएको थियो । भेलाले स्थानीय उत्पादन भए पनि भ्याट बिल काटेर बिक्रि गर्न नपाएको, अस्वस्थ प्रतिस्पर्धाका कारण काँचो सुपारीको मुल्य अनावश्यक बृद्धि भएको र प्रसोधित सुपारीको मुल्य घटेको लगायतका कारण देखाएर तत्कालका लागि १० दिन सुपारी संकलन र प्रसोधनको काम रोक्ने निर्णय गरेको थियो ।
स्थानीय उत्पादन भएर पनि विदेशी सुपारीको भण्डारण(स्टक) बाट घटाउने गरी सुपारी बिक्रि गर्ने गरेकाले स्थानीय व्यवशायीहरुले भ्याट बिल मार्फत कारोबार गर्न नपाएका कारण राजश्व छली भएको बिषयमा व्यवशायीहरुकै तर्फबाट आन्तरिक राजश्व कार्यालय झापाको ध्यानाकर्षण गराउने तयारी गरेको एक सुपारी व्यवशायीले सेतोपत्रलाई बताउनु भयो । झापामा मात्रै ४० वटा काँचो सुपारी प्रसोधन केन्द्र सञ्चालनमा छन भने जिल्लामा १० हजार ३ सय ५५ मेट्रिक टन प्रसोधित सुपारी उत्पादन हुने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
झापामा उत्पादित सुपारीबाट मात्रै ६० करोड बढी राजश्व छली
प्रकाशित मिति:
सोमबार, माघ ९, २०७९, ०९:१५:००