झापा, माघ ५ । प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित हुनु भएको छ। आज सङ्घीय संसद नयाँ बानेश्वरमा भएको निर्वाचनमा सत्ता साझेदार दलका तर्फबाट एमालेका उम्मेदवार घिमिरे बहुमतले निर्वाचित हुनु भएको हो ।
कुल उपस्थित २ सय ६८ सांसद मध्ये घिमिरेको पक्षमा १ सय ६७ मत पाएर निर्वाचीत हुनु भएको हो घिमिरेको विपक्षमा १ सय मत खसेको थियो । भने मत नदिनेमा १ मत परेको छ ।
प्रतिनिधि सभामा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्नु भएको थियो । सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेका एमाले नेता घिमिरेको प्रस्तावकमा नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल र जनमत पार्टीका सांसदले समर्थन गरेका थिए ।
सभामुख घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनु भएको थियो । एमाले प्रदेश १ इन्चार्ज समेत रहनु भएका घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्य हुनु भएको हो । घिमिरे झापाका पुराना नेताका रूपमा परिचित हुनुहुन्छ ।
विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने सभामुखकी उम्मेदवार बन्नु भएको थियो । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका थिए । न्यौपानेलाई कांग्रेससहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको थियो।
प्रकाशित मिति:
बिहिबार, माघ ५, २०७९, १७:२७:००