झापा,माघ २। आइतबार यती एयरलाइन्सको एटिआर विमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको शवको पोस्टमार्टम सुरु गर्न लागिएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव पोस्टमार्टम गर्न लागिएको हो ।
हाल सम्म ६८ जनाको शव भेटिएको र ति मध्ये ३५ शवको सनाखत भएको गण्डकी प्रदेशका डिआइजी रामदत्त जोशीले जानकारी दिनुभयो ।
विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । डिआइजी जोशीका अनुसार सनाखत भएको शव पोस्टमार्टम गरेर अस्पतालबाटै आफन्तलाई जिम्मा लगाइने छ ।
सङ्कलन गरिएको ३९ शव परुषको र २५ शव महिलाको पहिचान भएको छ । ३ वटा शवको पहिचानमा समस्या भएको छ । ३ शवमध्ये पुरुष र महिला नछुट्टिने अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सुरक्षाकर्मीहरुले पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोचमा आज बिहानैदेखि खोज तथा उद्धार गरिरहेका छन । यसैबिच दुर्घटना भएको विमानको ब्ल्याक बक्स भेटिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको हो । प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्सलाई काठमाडौं ल्याउने तयारी भइरहेको बताउनुभयो ।
ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।
प्रकाशित मिति:
सोमबार, माघ २, २०७९, १२:११:००