झापा,पौष २८ । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गरेको हो । सभामुखका लागि गौतमको मात्र उम्मेदवारी परेको थियो ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमालेले लिएपछि सभामुख माओवादी केन्द्रले पाएको थियो । माओवादीले ओखलढुंगाको प्रदेश सभा २ बाट निर्वाचित गौतमलाई सभामुख बनाएको हो ।
नवनिर्वाचित सभामुख गौतमले आजनै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख गाैतमलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनुभएकाे हाे । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन पुस ३० गते बिहान ११ बजेका लागि तोक्नुभएको हो । दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । एमालेले उपसभामुखमा भोजपुरकी सिर्जना राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई निर्विरोध निर्वाचित गरेपछि उपसभामुखको निर्वाचन मिति तोकिएको छ । सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ ।
कांग्रेसका नेता उद्धव थापाले उपसभामुखको उम्मेदवार कसलाई बनाउने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।
प्रकाशित मिति:
बिहिबार, पुस २८, २०७९, १५:१५:००