झापा, पुष १२ । प्रदेश १ नेपाली काँग्रेसको संसदिय दलको नेताका लागि पुस १५ गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिले पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यसअघि पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । सोहि दिन बिहान ११ः३० मा अन्तिम नामावली सार्वजनिक गरिने छ ।
पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितीले जनाएको छ ।
राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा गठित निर्वाचन समितिमा उमेश थापा, रेगिना भट्टराई, लक्ष्मी चौधरी र नन्द नेम्वाङ सदस्य रहनुभएको छ । दलको नेता चयनमा २९ सांसदले मतदान गर्नेछन ।
प्रदेश १ मा कांग्रेस संसदीय दलको नेताका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, केन्द्रीय सदस्यहरु अमृत अर्याल, प्रदीप सुनुवार, भीम पराजुली र प्रदेश समिति सभापति समेत रहनुभएका उद्धव थापा आकांक्षी हुनुहुन्छ ।
प्रकाशित मिति:
मंगलबार, पुस १२, २०७९, १५:०१:००