झापा, पुष ४ । विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा पेनाल्टी सुट आउटमा फ्रान्सलाई ४–२ गोलले हराउँदै अर्जेन्टिना तेस्रो पटक विश्व विजेता बनेको हो ।
निर्धारित ९० मिनेटको समय दुई दुई गोलको बराबरीमा सकिएपछि थप गरीएको ३० मिनेटको समयमा एक एक गोल भई खेल तीन तीन गोलको बराबरी अवस्थामा पुगे पछि फाइनलको विजेताको निर्णय ट्राईब्रेकरबाट भएको थियो । २ पटक अग्रता लिए पनि जोगाउन नसक्दा अर्जेन्टिनाले जितका लागि पेनाल्टीसम्म पुग्नु परेको थियो ।
८० मिनेटसम्म अर्जेन्टिनाले २ शून्यले अग्रता लिएको खेलमा फ्रान्सका केलियन एम्बाप्पेले २ मिनेटमा २ गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । त्यसपछि थप भएको समयमा पनि अर्जेन्टिनाले गोल गर्दै अग्रता लिएको थियो । तर, फ्रान्सका एम्बाप्पेले फेरि पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा र्पुयाएपछि खेलको निर्णय ट्राईब्रेकरबाट भएको थियो ।
त्यसअघि खेलको पहिलो हाफमा अर्जेन्टिनाले २ गोलको अग्रता लिएको थियो । मेस्सीले पेनाल्टीमार्फत अग्रता दिलाएको खेलमा एन्जेल डी मारियाले अर्को गोल थपेका थिए ।
फ्रान्सका एम्बाप्पेले ३ गोल गरे पनि टिमको जितका लागि पर्याप्त हुन सकेन । उनले निर्धारित र थप गरिएको समयमा ३ गोल गरेका थिए । उनले ट्राईब्रेकरमा पनि थप १ गोल गरे तर २ सहकर्मीको प्रहारले गोलपोष्टको दिशा लिन नसक्दा फ्रान्स पराजित भयो ।
यससँगै, लगातार २ विश्वकप जित्ने फ्रान्सको सपना पूरा हुन सकेन भने विश्वकप जित्ने अर्जेन्टिनाका कप्तान तथा यो दशककै उत्कृष्ट खेलाडीका रुपमा रहेका मेस्सीको सपना भने पूरा भएको छ ।
अर्जेन्टिना समग्रमा तेस्रो पटक विश्व विजेता बनेको हो । अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकप फुटबलको उपाधि जितेको हो । एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन । विश्वकपको उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पाएका छन ।
प्रकाशित मिति:
सोमबार, पुस ४, २०७९, ०६:२९:००