झापा, पुष ३ । फिफा विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदै छ । लुसेल रङ्गशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रँदै छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ को विश्वकप जितेको थियो ।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो । यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।
प्रकाशित मिति:
आईतबार, पुस ३, २०७९, १८:३७:००