झापा, पुष ३ । क्रोएसिया कतारमा जारी विश्वकप फुटबलको तेस्रो स्थान ओगट्न सफल भएको छ । हिजो भएको तेस्रो स्थानको खेलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको हो ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा क्रोएसिया २–१ ले विजयी भयो । खेलको ९ मिनेटमै दु्वै टिमले एक एक गोल गरेका थिए । सातौं मिनेटमा क्रोएसियाका जोस्को भार्दियोलले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटमै अच्राफ दारीले गोल गर्दै मोरक्कोलाई बराबरीमा ल्याए ।
४२ औं मिनेटमा मिस्लाभ ओर्सिकले गोल गर्दै क्रोएसियालाई २–१ ले अग्रता दिलाए । मध्यान्तरपछि भने कुनै गोल नहुँदा क्रोएसिया विजयी भयो ।
पहिलो पटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो ।
दुवै टिम एकै समूहमा रहेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएकाले पनि आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको थियो । मोरक्कोले आजको खेलमा गोल गर्ने थुप्रै अवसर गुमाएको थियो ।
यसै बिच आज कतार विश्वकपको फाइनल खेल हुँदैछ । उपाधीका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै छन । फ्रान्स चौथो तथा अर्जेन्टिना छैटौं पटक फाइनलमा पुगेको हो ।
दुवै टिमले दुई दुई पटक उपाधि जितिसकेका छन । जुन टिमले जिते पनि उपाधिमाथि ह्याट्रिक गर्नेछन । खेल नेपाली समय अनुसार राति ८ः४५ बजे शुरु हुनेछ ।
प्रकाशित मिति:
आईतबार, पुस ३, २०७९, ०७:४४:००