झापा,मंसिर १४ । झापाको हल्दीबारीमा एकै दिन तीनवटा पुलको शिलान्यास गरिएको छ । झापा ३ वाट प्रतिनिधि सभामा निर्वाचित राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको हो ।
हल्दीबारीको वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइको, वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाईको पुल निमार्णको लागि शिलान्यास भएको छ ।
३ वटा पुल निर्माणका लागि ४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा सारा सृष्टि निर्माण सेवा प्रा.लि. संग ठेक्का सम्झौता भएको हल्दीबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
२ वर्षभित्र निमार्ण सक्ने गरि गाउँपालिका क्षेत्र भित्रका अन्तिम ३ वटा काठका पुल विस्तापित गर्दै पक्की पुल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो ।
कार्यक्रममा झापा ३ (ख) बाट प्रदेशसभामा निर्वाचित छवि चुडालको समेत उपस्थिती रहेको थियो ।
प्रकाशित मिति:
बुधबार, मंसिर १४, २०७९, १५:२८:००