झापा, मंसिर १४ । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । यो खबर तयार पार्दासम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ । जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन । गणना भइरहेको सुनसरी ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमाले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र ११ लाख ४३ हजार ५०३ मतसहित तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ मत र जनमत पार्टी ३ लाख ४६ हजार ९७० प्राप्त गर्दै राष्ट्रिय दल बन्न अग्रसर हुँदा नेकपा एकीकृत समाजवादी २ लाख ८१ हजार ३४८ मतका साथ राष्ट्रिय दल बन्न सङ्घर्ष गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४७ हजार ९२४ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।
यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो । राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ । प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।
प्रकाशित मिति:
बुधबार, मंसिर १४, २०७९, ०९:०७:००